आन्दोलनको भूमरीमा देश, कुन पार्टीको तयारी के छ ? (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै बिहिवार कडा आन्दोलनमा जाने उद्घोष गरे ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमविरुद्ध नेपाल बन्दसम्मका आन्दोलन गर्नुपर्ने तर्क अघि सारे । बन्द हड्तालका कार्यक्रमलाई निरुत्साहित गर्नुपर्ने बताउँदै आएका प्रचण्डको मुखबाट नेपाल बन्द गर्नेसम्मको चेतावनी आउनुले देश फेरि आन्दोलनको भूमरीमा फस्ने आंकलन गरिएको छ ।

पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै प्रदर्शन र आन्दोलनको लहर चलेको हो । विभिन्न दलका भातृ संगठनहरुले देशका विभिन्न ठाउँमा अहिले पनि विरोध प्रदर्शनहरु गरिरहेका छन् ।

त्यसो त प्रचण्ड नेपाल पक्षीय नेकपाको बैठकले आन्दोलनका विभिन्न कार्यक्रमहरु समेत घोषणा गरेको छ । आन्दोलनको तयारीका लागि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुइ हजार ५ सय १ सदस्यीय सघर्ष समिति गठन गर्ने तयारी भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पुस १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय बैठकले गरेको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि देशव्यापी आन्दोलनको घोषणा गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत निर्णय गरेको बताए ।

कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष सहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । यस्तै पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चार माध्यममा आएको र त्यसमा सत्यता नरहेको पनि प्रवक्ता शर्माले बताएका छन् ।

पुष ५ गते संसद विघटनपछि बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेपाली कांग्रैसकै संयोजनमा बसेको सर्वदलीय बैठकले संसद विघटनको कदमलाई असंवैधानिक ठहर गरेको थियो । कांग्रेसले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका बिरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ ।

यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी शुरु गरेको छ । जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तयार गर्न बिहीबार बैठक बसेको जसपाका नेता केशव झाले बताए ।

जसपाले यस अघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुष १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुष ११ गते मशाल जुलुस निकाल्ने र पुष १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ ।

यस्तै विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।  बिहिबार अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशिल (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैह्रजिम्मेवारी र नालायकीपन ठहर गर्दै आन्दोलनको घोषणा गर्नु परेको समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?