रातोमाटो आयस्रोतको माध्यम

म्याग्दी (बेनी), १५ असोज ।म्याग्दी जिल्लाका बेनी नगरपालिका–१ ढाँडथरमा बसोबास गर्दै आएका विपत्र घर परिवारले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् ।आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् ।रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको रु.८० देखि रु.एक सयसम्ममा बिक्री गर्ने गरेको बताइन ।त्यस्तै घर खर्च टार्न र बालबालिकालाई पढाइ खर्च जुटाउनका लागि पनि सहज भएको रातोमाटो बिक्री गर्दै आएका ढाँडथर निवासी कृष्णवहादुर विक बताउछन् ।‘दिनभरी रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौँ र स्थानीय बजारमा ल्याएर बिक्री गर्छौं, आम्दानी पनि राम्रै छ’, रातोमाटो बिक्री गर्ने क्रममा म्याग्दी सदरमुकाम आइपुगेकी हुँ मिना रामदाम भन्छिन ।रातो माटो निकाल्ने ठाउँमा नै आउने ग्राहकलाई रु.२० मा र बाहिर लगेर विक्री गर्दा प्रतिपाथी रु ८० देखि एक सयमा विक्री हुने रामदामको भनाइ छ ।विगत सात वर्षदेखि माटो बिक्री गर्दै आएकी तिलमाया विकले माटो बिक्री गरेर नै महिनामा रु.चार हजारदेखि रु. पाँचहजारसम्म आम्दानी गर्ने गरेको र यसबाट नै आफ्ना छोराछोरीको पढाइ खर्च र घर व्यवहार टार्ने गरेको बताइन ।रातोमाटोको लागि प्रसिद्ध मानिने यो स्थानका करिब २० घर परिवारले हाल आएर यो पेसालाई प्राथमिकता दिँदै आएका छन् । दैनिक माटो बिक्री गरेका कारण ढाडथरमा जताततै माटोका खाल्डा पाइने गरेको छ ।यसरी नै माटो बिक्री गरिरहने हो भने सो स्थानका बासिन्दाको जीविकोपार्जन त हुन्छ तर केही वर्षमा यो स्थानमा रातोमाटो नै नपाइने संभावना बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?