काठमाडौं । भोजपुरको तिम्मामा व्यवसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यवसायिकरूपमा नै सतुवा खेती शुरु गरेका हुन ।
४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित भएका राई यसबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका छन । उनले भने, ‘‘मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु, जडीबुटीको बिक्रीबाट १५ लाखसम्म आम्दानी हुन्छ, स्वदेशमा व्यवसायिक बन्न सके विदेशको भन्दा धेरै आम्दानी यही घरपरिवारसँगै बसेर गर्न सकिन्छ ।’’
सङ्गम जडीबुटी उद्योग दर्ता गरेर विगत १० वर्षदेखि जडीबुटीखेतीमा लागेका राई करीब पाँच रोपनी क्षेत्रफलमा ३५ हजार सुतवाको बिरुवाको नर्सरी लगाएका छन । गतवर्ष सतुवाका बिरुवा बिक्री गरेर दुई लाख आम्दानी गरेका राईले यस वर्ष ३५ हजार सतुवाको बिरुवा हुर्काएका छन् । उनको नर्सरीमा उत्पादन भएका सुतवा प्रतिकेजी रु दश हजार तथा सतुवाका प्रतिबिरुवा र २० देखि १०० सम्मका दरले बिक्री हुने गरेको उनको भनाइ छ ।
वर्षमा दुई लाखसम्म सतुवाको बिरुवा बाहिर पठाउँदै आएको उनको भनाइ छ । राईले भने, ‘‘अहिले बजारमा सतुवाको माग उच्च छ, मैले वर्षमा दुई लाख बढी बिरुवा अन्य ठाउँमा पठाउँदै आएको छु, विगतमा प्रतिकेजी २२ हजारसम्ममा बिक्री हुने सतुवाको मूल्य केही वर्षयता घटेको छ, यसपाली प्रतिकेजी दश हजारसम्म बिक्री भइरहेको छ ।” सतुवाको बीउ प्रतिकेजी एक लाखमा बिक्री हुन्छ, उनले भने ।
“सतुवा खेतीसँगै अन्य जडिबुटी खेतीलाई पनि व्यवसायिक रूप दिएको छु”, उनले भने “मागअनुसारका सतुवाका बिरुवा पुर्याउन सकेको छैन ।” आफ्ना क्षेत्रका स्थानीयवासीलाई पनि जडीबुटीखेतीमा लाग्न उनले प्रोत्साहनसमेत गरिरहेका छन । उनको सफलतापछि तिम्माका अधिकांश स्थानीयवासी सतुवा खेतीतर्फ आकर्षित भएका छन् । स्थानीयवासीले उत्पादन गरेका जडीबुटीलाई सङ्कलन गरेर बजारसम्म पुर्याउनका लागि आफूले सहयोगसमेत गर्दै आएको राईको भनाइ छ ।
तिम्माका ६५ बढी घरपरिवारले सामान्य रुपमा चिराइतो, लोड सल्ला, सतुवा बिखुम्वालगायत खेती गरिरहेका छन् । स्थानीयवासीले उत्पादन गरेको जडीबुटी बजारीकरणको जिम्मा समेत राईले नै लिने गरेका छन । उत्पादित बस्तु आफ्नै घरबाट बिक्री गर्न पाउँदा स्थानीयवासी पनि खुशी भएका छन् । स्थानीयवासी खेमराज राउतले भने, ‘‘हाम्रो क्षेत्रका अधिकांशले सामान्य रुपमा भएपनि विभिन्न खालका जडीबुटी लगाएका छन्, सरकारले जडीबुटीको बजारीकरणमा खास ध्यान नदिएको भए पनि सङ्गम जडीबुटी उद्योगले उत्पादित बस्तुलाई आफै खरिद गरेर बजारीकरणमा सहयोग गर्दै आएको छ ।” उनले यसले पनि हामीलाई व्यवसायमा लाग्न टेवा मिलेको बताए।
व्यापार व्यवसायमा प्रतिपस्पर्धा हुँदा एकले अर्कालाई असहयोग गरेका धेरै उदाहरण छन् । तर स्थानीयवासीको साथ, सहयोग र विश्वासका साथ व्यवसाय गरिरहेका राई समाजमा उदाहरणीय पात्र बनेको वडाध्यक्ष नरबहादुर राईले बताए। उनले भने ‘‘सङ्गम जडीबुटी उद्योग नै खोलेर राईले उदाहरणीय काम गर्नुभएको छ । उहाँको कामलाई देखेर धेरैले जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन् । वडा कार्यालयले पनि जडीबुटी खेती विस्तार तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना ल्याउने पक्षमा छन् ।’’
समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै राईले तिम्मा सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया