के प्रचण्ड – नेपाल समूहको महासचिव बन्दैछन् सुरेन्द्र पाण्डे ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक आज (बिहीबार) बस्दैछ ।

ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड – माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ ।

यसैबीच प्राप्त जानकारी अनुसार प्रचण्ड–नेपाल नेकपाको महासचिवमा नेता सुरेन्द्र पाण्डेलाई बनाउने समझदारी भएको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीचको छलफलले नेता पाण्डेलाई महासचिव बनाउने समझदारी गरेको हो ।

वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा पाण्डेलाई महासचिव दिने समझदारी भएको स्रोतले बतायो ।

पाण्डे पूर्वएमालेको नवौँ महाधिवेशनमा माधव नेपाल समुहबाट महासचिवमा उम्मेदवार बन्दा महासचिव ईश्वर पोखरेलसँग ६ मतले पराजित भएका थिए ।ओली समूहको महासचिव विष्णुप्रसाद पौडेल छन् ।

मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक राखेका थिए । मंगलवारको बैठकमा ओली समूहले ११९९ सदस्यीय केन्द्रीय समिति विस्तार र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सो पक्षले पार्टी प्रवक्ता नाराणणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई दिएको थियो । तर नारायणकाजी श्रेष्ठले ओली पक्षको निर्णय नमान्ने र आफू नै पार्टी प्रवक्ता भएको जिकीर गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?