कमला अर्याल / काठमाडौं – बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको भावी अध्यक्षका लागि कसरत शुरु भएको छ ।
समितिका बहालवाला अध्यक्ष चिरञ्जिवी चापागाईं आउँदो पुस २३ गतेबाट अवकाश लिँदैछन् । सोही अवधिदेखि रिक्त हुने समितिको अध्यक्ष पदका लागि दौडधुप चल्न थालेको हो ।
समितिको अध्यक्ष बन्न प्रतिष्पर्धाका लागि समितिका हालका अध्यक्ष चापागाईं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, चार्टर्ड एकाउन्टेन्ट महेश चापागाईं र श्रीमान कार्की लगायत मैदानमा उत्रिएका छन् । प्रतिष्पर्धीहरुले जित आफ्नो पोल्टामा पार्न आफू निकट शक्ति केन्द्रसँग हिमचिम बढाउन थालेका छन् ।
अहिले बजारमा समितिको अध्यक्षको रुपमा को आउला ? भन्ने चर्चा परिचर्चा चल्न थालेको छ ।
समितिको अध्यक्ष पदका लागि सबैभन्दा शक्तिशाली आकांक्षीको रुपमा डेपुटी गभर्नर शिवाकोटी देखिएका छन् । किनकी उनी यसअघि राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस भएका व्यक्ति हुन् । त्यति मात्रै होइन, शिवाकोटी राजनीतिक रुपमा पनि बलिया व्यक्ति हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । त्यसैले पनि उनलाई गभर्नरका लागि शक्तिशाली दावेदार मानिएको थियो । तर पछि प्रधानमन्त्री र अर्थमन्त्रीको स्वार्थ मिलेपछि महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्ति गरियो । त्यसबेला डेपुटी गभर्नर शिवाकोटीलाई अर्को कुनै शक्तिशाली पदमा नियुक्ति गर्ने विश्वास समेत दिलाइएको थियो । शिवाकोटीलाई डेपुटी गभर्नर पनि प्रधानमन्त्री ओलीले नै बनाएका थिए । त्यसैले पनि यसपालि शिवाकोटी शक्तिशाली आकांक्षीका रुपमा देखिएका हुन् । स्रोतका अनुसार सम्भवतः शिवाकोटी नै समितिका अध्यक्ष बन्नेछन् ।
यता हालका अध्यक्ष चापागाईं पनि अध्यक्षमा दोहोरिन चाहिरहेका छन् । उनी राष्ट्र बैंकको निर्देशकबाटै समितिको अध्यक्ष बनेका थिए । उनी पूर्व माओवादी निकट व्यक्ति हुन् । उनलाई तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले समितिको अध्यक्षका रुपमा नियुक्ति गरेका थिए ।
शिवाकोरी र चापागाईंबाहेक अन्य आकांक्षीहरुले पनि आफ्नो ‘पावर एक्सरसाईज’ गर्न थालेका छन् ।
अध्यक्षका दावेदार टंक पनेरु यसअघि धितोपत्र बोर्डमा पनि जाने प्रयास गरेका थिए । उनलाई पनि शक्तिशाली आकांक्षीका रुपमा हेरिएको छ । पनेरु यसअघि नेपाल इन्स्योरेन्सको पूर्व अध्यक्ष हुन् । उनलाई त्यतिबेला निवर्तमान मन्त्री (संस्कृति पर्यटन तथा नागरिक उड्डयन) योगेश भट्टराईले नेपाल वायुसेवा निगमको जिम्मेवारीमा लैजाने भन्ने चर्चा चलेको थियो । उनले पार्टीलाई योगदान गरेपनि पार्टीले आफूलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै गुनासो समेत गर्दै हिँड्ने गरेका छन् । तर सत्तारुढ नेकपाको घरझगडाका कारण संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव र अडान अस्वीकार गरेका निवर्तमान मन्त्री भट्टराईले पदबाट राजीनामा दिएपछि पनेरुलाई धक्का लाग्ने पक्का छ ।
त्यसैगरी, अर्का आकांक्षी नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल पनि समितिको अध्यक्षको दावेदारका रुपमा देखिएका छन् । डा.खरेलले आफ्ना ससुरा पूर्व अर्थमन्त्री एवम् अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाको सहारामा समितिमा दाबी गरेका छन् । डा. खतिवडा अर्थमन्त्री हुँदा डा. खरेल काजमा अर्थमन्त्रालय तानिएका थिए ।
राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका भए उनी डेपुटी गभर्नरमा पक्का थिए । तर उनी निर्देशक मात्रै भएकाले डेपुटी गभर्नर भएनन् । उनी निर्देशक मात्रै हुन् । उनी नेपाल नागरिक लगानी कोषको बोर्डमा सदस्यका रुपमा अझै कार्यरत छन् । उनलाई डा.खतिवडाले नै नागरिक लगानी कोषको सदस्य बनाएका थिए । तर स्रोतका अनुसार डा. खरेलको सम्भावना भने कम रहेको छ। अहिले डा.खतिवडा अर्थमन्त्रीको रुपमा छैनन् । उनी अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका छन् । अर्थमन्त्रीको भूमिकामा नभएपछि डा. खरेलको सम्भावना न्यून भएकोे हो ।
बीमा कम्पनीको कार्यकारी निर्देशकबाट नियुक्ति पाएका श्रीमान् कार्कीको नाम पनि अध्यक्षको रुपमा चर्चामा आएको छ ।
हाल नेपालमा १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पूनर्बीमा गरी ४० बीमा कम्पनीहरु सञ्चालनमा छन् । यी सबै बीमा कम्पनीहरुको नियमन तथा सुपरिवेक्षणको काम समितिले गर्छ ।
अब यो नियामक निकायमा कसले बाजी मार्छ ? त्यो भने समयले देखाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया