काठमाडौं । उमेरले ६३ वर्ष पुगेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ भुम्लुटारका धनबहादुर माझी भोटेकोशी नदी छेउमा चुहिएको डुङ्गा टाल्दै जीविकोपार्जनको पेशा जोगाउने तयारीमा छन । उनले डुङ्गा टाल्नका लागि भतिजो पर्ने सोमबहादुरलाई लगाएका छन ।
नदीमा माछा मार्ने र डुङ्गा खियाएर परिवार पाल्ने माझी समुदायको पुख्र्यौली पेशा हो । पछिल्लो समयमा नदीमा माछा नपाइने र यातायातको साधन चलेपछि खासै डुङ्गाको खोजी नहुने भएकाले पनि पुख्र्यौली पेशाबाट विस्तारै विस्थापित हुँदै जानुपरेको उनको गुनासो छ । सिमलको काठबाट बनाइएका डुङ्गा दुई-तीन वर्षसम्म चलाउन मिल्ने भए पनि बेलाबखत खिइएर चुहिने भएकाले टालटुल गर्नुपरेको उनको भनाइ छ ।
‘‘अहिले पछिल्ला समयमा डुङ्गा चुहिएर चलाउन मिलिरहेको थिएन । अब टालटुल गरेर चलाउनु पर्यो भनेर भतिजोलाई काममा लगाएको हुँ’’ उनले भने ।
पछिल्लो समयमा न त डुङ्गा खियाएर जीविकोपार्जन गर्न सक्ने आधार छ, न माछा मारेर नै । पछिल्लो समयमा नदीमा माछा नै पाउन छाडेपछि त्यो पेशा पनि सङ्कटमा परेको उनले बताए। उनका अनुसार विगतमा पुल नबन्दा राँगाभैँसी डुङ्गाबाट नै तार्ने गरिन्थ्यो । त्यसरी तारिदिएबापत प्राप्त आम्दानीले जीविकोपार्जन गर्ने गरिन्थ्यो । अहिले त नदीमा पक्की पुल र माछा नै नपाइने भएपछि आफूहरुको पुख्र्यौली पेशा विस्थापन हुँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।
पर्यटक आएका बेलामा मात्रै त्यसरी टालिएको डुङ्गा प्रयोगमा आउने उनले बताए । “पर्यटक आए भने त कमाइ ठीकै हुन्छ, नभए नदी छेउमा राखिराख्नुको विकल्प छैन”, धनबहादुरले भने । उनले टाल्दै गरेको डुङ्गामा दुई-तीन जनासम्म चढ्न मिल्छ । उनी नदीमा डुङ्गा चढेको भाडा प्रतिव्यक्ति १०० रुपैयाँ लिन्छन । त्यसरी सानो डुङ्गामा दुई÷तीन जना र ठूलोमा भने चार-पाँच जनासम्म चढ्न मिल्ने उनले बताए ।
डुङ्गा चढ्ने मानि सधैँजसो नआउने भएकाले प्रायः बिदाको दिन र शनिबार मात्रै चलाउने गरेको उनको भनाइ छ । ‘‘पर्यटक सधैँं नआउने भएकाले प्रायः शनिबार मात्रै चलाउने गर्छौं’’, उनले भने, “बिदाको दिन भने एक हजार ५०० देखि दुई हजार पच्चीस सय रुपैयाँसम्म कमाइ हुन्छ ।” त्यससँगै झन् स्थानीय बासिन्दाले नदी छेउछाउमा विभिन्न खालका फोहर फाल्ने गरेपछि पर्यटक आउने सङ्ख्यामा कमी आएको उनी बताउछन।
सोही ठाउँका सोमबहादुर माझीका अनुसार एउटा काठ किन्न कम्तीमा पनि एक लाख रुपैयाँ पर्छ । “काठ किनेर त्यहीँ बनाउनु पर्यो, फेरि ल्याएपछि नदी किनारामा पनि अवस्थाअनुसार बनाउनुपर्छ’’, उनले थपे, ‘‘देखेजति सहज कहाँ छ र हजुर !” सोमबहादुरले त्यसरी डुङ्गा खियाउन थालेको ४०-४५ वर्ष भयो । छ जनाको परिवार पाल्नका लागि डुङ्गा खियाउने व्यवसायसँगै त्यसले मात्रै नधान्ने भएपछि पछिल्लो समयमा गाउँघरमा नै आफूले ठेक्कापट्टामा ज्यामी काम गर्दै आएको सुनाए।
ज्यामी काम गर्दा दिनको आठ-नौ सय रुपैयाँ पाउने गरे पनि सधैँं त्यस्तो काम पनि नपाइने उनले दुखेसो छ । आदिवासी जनजाति समुदायभित्रका अति सीमान्तकृत समूहमा पर्ने सो समुदायको जीवनस्तर उकास्ने खालको अहिलेसम्म कुनै पनि काम स्थानीय सरकारले पनि गरेको छैन । सो वडामा करिब ७० घरपरिवार माझी समुदायको बसोबास छ । भुम्लु–८ का वडाध्यक्ष मोतीलाल तामाङले अहिलेसम्म माझी समुदायको जीवनस्तर उकास्ने र पेशा संरक्षणको क्षेत्रमा कुनै पनि काम नभएको बताए ।
‘‘हामीले उनीहरुको जीवनस्तर उकास्ने खालको केही पनि काम गर्न सकेका छैनौँ’’, उनले भने “यस वर्ष भने उनीहरुको मौलिक संस्कृति झल्कने सामग्री सङ्गृहीत गरेर राख्ने कामसँगै बजेट पनि छुट्याएका छौँ ।”
यसअघि नै पुरातत्व विभागले दोलालघाटमा बनाएर राखेको भवनसमेत सदुपयोग हुने गरी माझीहरुले प्रयोग गर्ने डुङ्गा, माछा मार्न प्रयोग गर्ने जाललगायत आदिवासी जनजाति समुदायको संस्कृति झल्कने वस्तुको संरक्षणको काम गर्न लागिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया