काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकारेमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताएका छन् ।
नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले भने, “संसद् भङ्ग गर्न गल्ती भयो, साथीहरुको भावना समेट्न सकिन, म पश्चात्ताप गर्छु भनेर आउन चाहनुभयो भने उहाँलाई स्वागत गर्न अहिले पनि हामी तयार छौँ ।”
प्रधानमन्त्री ओलीले पश्चाताप नगरेमा स्थायी समितिको निर्णयअनुसार उनीमाथि अनुशासनको कारवाही हुने अध्यक्ष दाहालले स्पष्ट गरे । वर्तमान संविधानको मर्म र भावनाविपरीत अख्तियारको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट संसद् भङ्ग गरिएको जिकिर गर्दै उनले संविधानतः संसद् भङ्ग भएको होइन, भङ्ग भएको ओलीको सरकार मात्र हो, विघटन भएको सरकार हो, संसद् होइन भनी बहुसङ्ख्यक पूर्वसदस्य अदालत गएर भन्नुपर्ने अवस्था आएको बताए ।
अध्यक्ष दाहालले भने ”, “हामी संसद्को प्रमुख पार्टी हुनुको नाताले विघटन अवैध छ भनेर कानूनी उपचार खोजीसँगै सङ्गठन र समाजमा पनि सन्देश फैलाउनुपर्छ ।” प्रधानमन्त्रीको कदमलाई अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी जनभावना र राजनीतिक दलको भनाइ बुझेर निर्णय गर्ने विश्वास उनले व्यक्त गरे ।
जनतालाई आन्दोलनमा राम्रोसँग परिचालन गर्न सकेनौँ भने देश दुर्घटनामा जाने खतरा रहेको बताउँदै अध्यक्ष दाहालले समाजमा जाने र कार्यकर्ता परिचालन गर्ने कार्य जोडतोड तुल्याउन आवश्यक छ भने । पार्टीभित्रका समस्या, घटना र एकीकरणपछि अहिलेसम्मको सहयात्रासम्बन्धी बैठकमा लामो फेहरिस्त सुनाउँदै अध्यक्ष दाहालले आजको बैठक र आफ्नो समूहको पार्टीको आधिकारिकताको पुष्ट्याइएका विभिन्न आधार प्रस्तुत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया