सनसारीमाई मन्दिरको पूनर्निर्माण

RSS
0
Shares

काठमाडौं । रङ्गेली नगरपालिका–७ स्थित सनसारीमाई मन्दिर पूनर्निर्माण शुरुआत गरिएको छ । यसका लागि प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गरेको छ । ‘मनले चिताएको पुग्ने हुने विश्वास गरिएको ’ मन्दिर पछिल्लो समय जीर्ण बन्दै गएको थियो । मन्दिर पूनर्निर्माण हुने भएपछि भक्तजनले औधी खुशी प्रकट गरेका छन् ।

यस क्षेत्रको प्रमुख धार्मिक आकर्षणको केन्द्र रहेको मन्दिर करीब साढे छ बिघा क्षेत्र क्षेत्रफलमा फैलिएको छ । मन्दिरमा दर्शनका लागि विराटनगर, धरान, इटहरी, झापालगायत सीमावर्ती भारतीय विहार र बङ्गालका भक्तजन समेत आउने गर्दछ । आफ्नो मनोकामना पूरा हुने मुख्य देवीका रुपमा सनसारीमाईलाई लिइन्छ ।

विगतमा मन्दिरको जीर्णोद्धार गर्न कहीँ कतैबाट सहयोग उपलब्ध नभएका अवस्थामा मन्दिरको भेटीबाट नै आवश्यक खर्चको व्यवस्थापन गरी कार्य सञ्चालन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । रङ्गेलीस्थित चिसाङ्ग खोलाको किनारमा अवस्थित मन्दिरको जीर्णोद्धार, सौन्दर्य अभिवृद्धि तथा आकर्षक र आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरको आवश्यक मर्मतसम्भार र सौन्दर्य अभिवृद्धिका लागि रु १७ करोड ९५ लाख बजेट विनियोजन गरेको छ भने सोही बजेटबाट मन्दिरको काम गर्न रु १२ करोडमा ठेक्का लागेको छ ।

उक्त ठेक्काअन्तर्गत मन्दिरको कार्यालय भवन, पुजारी आवासगृह, शौचालय, चारैतिरका पर्खाल, भक्तजनलाई पकाउनका लागि ग्यास पाइपसहितको ९६ वटा भान्साकोठा, भजनकीर्तन गृह, खानेपानी ट्याङकी, बगैँचासहितको फाउन्टेन उद्यान र गौशाला निर्माण गर्नुपर्नेछ ।

कोरानाका कारण निर्माण कार्य केही समय अवरुद्ध भए पनि अहिले द्रूत गतिमा निर्माण भइरहेको उनले बताए । आगामी तीन वर्षभित्रमा सबै काम सम्पन्न हुने व्यवस्थापन समितिका सहसचिव ईश्वर पोखरेलले जानकारी दिए ।

भक्तजनले आफ्नो भाकल (मागेको कुरा) पूरा भएपछि बोकाको बलि दिने गरेका छन् । उद्योग, पर्यटन तथा तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटनका रुपमा मन्दिरलाई विकास गरी स्वदेशी तथा भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले बजेट विनियोजन गरिएको बताए । उनले यसको निर्माणबाट रङ्गेली मात्र होइन मोरङ जिल्लाकै गरिमा बढ्ने विश्वास व्यक्त गरे ।

मन्दिरमा बलि दिएको बोका पूर्वमा बक्रहा नदी र पश्चिममा चिसाङ्ग नदीको क्षेत्रफलभित्र उपयोग गरिसक्नुपर्ने पौराणिक मान्यता रहिआएको छ ।

इच्छाएको कुरा पूरा भएपछि एउटा बोकाको बलि दिन एकजना भक्तजनका साथमा करीब १५ जना परिवारका सदस्यहरु आउने गर्दछन् । कोराना महामारीले सामाजिक दूरी पनि कायम दिनुपर्ने कारण मन्दिरमा बलि दिने कार्य बन्द थियो । अहिले गत मङ्सिरको पहिलो हप्तादेखि स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाई दैनिक बलि दिने गरिएको छ । बलि दिन चाहने भक्तजन एवं श्रद्धालुले अग्रिम नाम दर्ता गराउनुपर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर कहिले स्थापना भएको भन्ने स्पष्ट मिति थाहा छैन । राणाकालमा रङ्गेली मोरङ जिल्लाको सदरमुकाम भएको समयमा भन्सार गस्ती र सरकारी कार्यालयले पूजा यही मन्दिरमा गर्ने गरेको स्थानीय बूढापाकाको भनाइ छ ।

विपी कोइरालाको आत्मवृत्तान्तमा विराटनगर– रङ्गेली–झापा हुलाकी मार्ग रहेको बेला मोरङको बडाहाकिम रहेका पिताजी कृष्णप्रसाद कोइराला सोही बाटो घोडामा चढेर जानेआउने क्रममा मन्दिरको दर्शन गर्ने गरेको उल्लेख छ ।

देवीसँग आफूले मागेको इच्छा पूरा हुने गरेकाले मन्दिरको दर्शनका लागि जाने गरेको विराटनगर–११ की विजया खतिवडाले जानकारी दिए । उनले देवीको पूजा तथा दर्शन गर्दा आफ्नो कष्ट पनि निवारण भएको बताए ।

हिन्दु धर्मावलम्बीले आफ्नो मनोकामना पूरा होस् भनी आफ्ना इष्टभित्र, नातागोतामार्फत अथवा मन्दिरमा टेलिफोन गरी रकम पठाई बलि दिने गरेका छन् । सय वर्षभन्दा लामो इतिहास बोकेको अनुमान गरिएको मन्दिरको आफ्नै धार्मिक महत्व रहेको छ । विगत १० वर्षदेखि दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेखनीय रुपमा बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउछन् । समयको परिवर्तन, विकास तथा प्रविधिले गर्दा भक्तजनले कुनै पनि समस्या अहिले झेल्नु नपरेको उनको भनाइ छ ।

मन्दिरमा सबैभन्दा बढी शनिबार र मङ्गलबार पूजा गर्न र भाकलअनुुसार बलि चढाउने गर्दछन् । प्रदेश सरकारले प्रदेश शक्तिपीठका रुपमा मान्यता दिएपछि मन्दिरको महत्व झन् वृद्धि भएको छ ।

गत वर्षको दशैँमा प्रदेशस्तरीय फूलपाती बढाइँ गर्न थालेपछि मन्दिरको चर्चा छिमेकी प्रदेशमा हुन थालेको छ । यस वर्ष रङ्गेली नगरपालिकाले स्वास्थ्य सुरक्षा एवं भौतिक दूरी कायम गरी दशैँमा फूलपाती बढाइँ गरी पूजा सम्पन्न गरेको थियो ।

रङ्गेलीले मन्दिरको साझेदारीमा पटकपटक गरी रु ४४ लाखको सहयोगको लागतमा चिसाङ्ग खोलाको बाढीबाट बचाउनका लागि पक्की बाँध निर्माण गरेको थियो । साथै बर्षात् एवं जाडो मौसममा भक्तजनको विश्रामका लागि २० सेड निर्माण गरिएको छ ।

रङ्गेली नगर प्रमुख दिलीप अग्रवालले मन्दिरको महत्व परापूर्वकालदेखि रहेको हुँदा यसको पुनः निर्माणमा प्रदेश सरकारको सहयोग सराहनीय रहेको बताउछन् ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले यस क्षेत्रका शक्तिपीठका रुपमा यस मन्दिरमा दर्शन गर्न आउने भक्तजनको आवश्यक सुविधामा सबैको सहयोग रहनुपर्नेमा जोड दिन्छन् ।

रङ्गेली निवासी नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष कुमोद अधिकारीले यस मन्दिरमा चिताएको कुरा पूरा हुनेले यसको महत्व स्वदेश तथा विदेशका हिन्दू धर्मावलम्बीमा अत्यधिक रहेको बताउछन् ।

मन्दिरको दैनिक पूजापाठ एवं आवश्यक व्यवस्थापनका लागि पाँचजना कार्यरत रहेका छन् भने उनीलाई भक्तजनबाट चढाइएको भेटी एवं दानबाट पारिश्रमिक भुक्तानी गर्ने गरिएको छ ।

मन्दिरले आफ्ना सम्पूर्ण आम्दानी बैंकमा जम्मा गर्ने गरेको र सबै कारोबार यसैमार्फत गर्ने गरेकाले सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रहेको पाइएको छ । विराटनगरबाट २२ किलोमिटर पूर्व झापा जाने बाटोमा मन्दिर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?