सगरमाथामा नेपाली ‘सर्भेयर’ नै पहिलो पाइला राख्न सफल भए : खिमलाल गौतम

RSS
13
Shares

काठमाडौं । नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधिक जनशक्तिबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो ।

हामीले मान्दै आएको सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर यसअघि विदेशीले मापन गरेका थिए । हिमाल चढ्नु आफैँमा कठिन कार्य, त्यसमाथि सगरमाथाको उचाइलाई मापन गर्नु झन् ठूलो चुनौती र जिम्मेवारी हो । सगरमाथाको उचाइ मापन टोलीको नेतृत्व गर्नुभएका कास्की, माछापुच्छ्रे गाउँपालिका (साविक धिताल गाविस) निवासी ३७ वर्षीय खिमलाल गौतम, जो हाल नापी विभागका कास्कीका प्रमुख हुन् ।

संयोजकत्वको टोलीले पाएको सफलतासँगै चीन र नेपाल सरकारले सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८,८४८.८६ मिटर पुगेको औपचारिक घोषणा गरे । कर्ममा विश्वास गर्ने र संसारमा असम्भव केही हुँदैन भन्ने मान्यताका साथ अघि बढ्न रुचाउने नापी विभागका उपसचिव(हाल चिफ सर्भे अफिसर, पोखरा) गौतमसँग रासस पोखरा प्रतिनिधि जमुनावर्षा शर्माले सगरमाथा मापनको अनुभवमा केन्द्रित रहेर गरेको कुराकानीः

  • एउटा गर्विलो र ऐतिहासिक काम यहाँको संयोजकत्वमा सम्पन्न भयो, सगरमाथा मापनको त्यो क्षण कसरी सम्झनुहुन्छ ?

गौतमः मुख्यतः यस कामका लागि हामी नापी विभागका धेरै सर्भेयरहरू खटिएका हौंँ । मेरो संयोजकत्वमा भन्दा पनि उचाइ मापनको सबैभन्दा जटिल र चुनौतीपूर्ण काम मेरो नेतृत्वमा सम्पन्न भएको हो । विभागका तर्फबाट मेरो नेतृत्वमा समिट अब्जर्भेशनको काम सम्पन्न भएको हो । सगरमाथाको इतिहासमा पहिलो पटक सर्भेयरहरू चुचुरामा पुगेर नेपालले एउटा विश्व रेकर्ड कायम गरेको छ, त्यसमा मेरो नेतृत्वमा संलग्न हुन पाउँदा म झनै खुशी छु । खासमा मेरो खुट्टाबाट गोल भएको भए तापनि मभन्दा ठूला त ती हुन् जसले बल पास दिए, डिफेन्डमा बसेर काम गरे, यो कार्यमा मसमेत सहभागी हुने भूमिका तयार गरिदिए । उचाइ मापन भन्ने कुरा सामूहिक काम हो, जसको समग्र संस्थागत नेतृत्व विभागले गरेको हो । हामी सबै नेपालीको शिर, संसारकै गजुरका रुपमा रहेको सगरमाथाको नेपाली उचाइ मापनमा महत्वपूर्ण भूमिकामा रहेर काम गर्न पाउँदा अत्यन्तै खुशी छु ।

  • एउटा ऐतिहासिक जिम्मेवारी काँधमा बोकेर सगरमाथाको बेसक्याम्प पुग्दाको पहिलो दिनको अनुभव कस्तो रह्यो ?

गौतमः हामी मिति २०७५ चैत २७ गतेका दिन सम्माननीय प्रधानमन्त्रीको शुभकामना बोकेर सगरमाथातर्फ लाग्दै गर्दा २०७६ साल वैशाख १० गते (पासाङल्हामु शेर्पा चढेको दिन) सगरमाथाको आधार शिविरमा पुगेका थियौंँ । पहिलो दिन जब आधारशिविरमा टेकेँ, तब मैले पहिलाभन्दा अलि भिन्न महसुस गरेँ । मैले यसभन्दा अगाडि पनि पटकौंँपटक आधारशिविरमा आएर कयौँ रात बिताइसकेको थिएँ तर यसपालि पुग्दा अलि अर्कै महसुस भयो ।

मेरो टोलीका चार सदस्यमध्ये दुई जना मात्रै १० गते आधार शिविर पुग्न सकेका थियौंँ, रवीनजीको स्वास्थ्यमा केही गडबड भएकाले त्यो दिन उनी पुग्न सकेनन् र तल लोबुचेमा नै एक जना साथी सुरजसिंह भण्डारीलाई साथी छाडेर युवराजलाई लिएर म त्यहाँ पुगेको थिएँ । । म अगाडि गएर समग्र व्यवस्थापनको विषयवस्तु बुझ्नुपर्ने र नपुगेको कुरा मिलाउनुपर्नेसमेत मेरो जिम्मेवारी भएको हुँदा बिरामी साथीलाई तलै छाडेर म अगाडि लागेको थिएँ ।

  • वैज्ञानिक मापन भनिएको छ, सर्वसाधारणले बुझ्ने भाषामा मापन विधिका बारेमा बताइदिनुहोस् न ?

गौतमः परिशुद्ध तवरबाट गरिने उचाइ मापन आफैँमा एक जटिल र विशुद्ध वैज्ञानिक कार्य हो । अझै यसपालि नेपालले गरेको उचाइ मापनमा यस अगाडि सगरमाथाको मापनमा प्रयोग गरिएका विधिहरूलाई अझै परिष्कृत गरी विभागले कार्य अगाडि बढाएको थियो ।

कुनै पनि स्थानको उचाइ मापन भन्नाले उक्त उचाइ कहाँबाट नापिएको हो भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ, जस्तै कुनै मान्छेको उचाइ भन्नाले मान्छेको पैतालाको तल्लो भागदेखि टुप्पीसम्मको ठाडो भागको मानलाई बुझिन्छ । मापन गर्नुभन्दा अगाडि उचाइ मापन गर्ने निश्चित आधार सतह निर्धारण गरिन्छ, जसलाई आधार सतह भनिन्छ । नापनक्शा विज्ञानमा उचाइ मापन सामान्यतया समुद्री सतहका आधारमा मापन गर्ने गरिन्छ तर हाम्रो देश नेपाल त भूपरिवेष्टित भएकाले हामीसँग समुद्र छैन, त्यसैले नेपालले सबैभन्दा नजीकको समुद्री सतह बङ्गालको खाडीलाई आधार सतह मान्ने गरेको छ ।

उचाइ मापनमा सामान्यतया दुई विधिहरु हुन्छन्, त्यसलाई हामी सरल भाषामा परम्परागत विधि र आधुनिक विधि भनेर भन्छौँ । परम्परागत विधिमा कुनै स्थानको उचाइ मापन गर्नका लागि चुचुरामा पुग्नु आवश्यक हुंँदैन तर आधुनिक विधिबाट काम गर्दा भने चुचुरामा यन्त्र, उपकरणसहित पुग्नुपर्ने हुन्छ । आधुनिक विधिमा कृत्रिम भूउपग्रहको मद्दतबाट कुनै पनि उचाइ आवश्यक रहेको स्थानमा भूउपग्रहका सूचना सङ्कलन गर्न सक्ने खालको यन्त्र जडान गरिन्छ र उक्त यन्त्रले रेकर्ड गरेको कच्चा तथ्याङ्कहरूलाई अन्य वरिपरि रहेका आधार विन्दुहरूमा राखिएको यस्तै यन्त्रहरूले रेकर्ड गरेको मानका आधारमा उक्त स्थानको अवस्थिति र उचाइ पत्ता लगाइन्छ । यो अत्यन्तै वैज्ञानिक र सहज तवरबाट बुझ्न जटिल प्रकारको हुने हुँदा यति मात्र भन्दा उपयुक्त हुन्छ ।

  • सगरमाथाको चुचुरामा कति समय बस्नुभयो, चुनौती के के थिए ?

गौतमः समग्र यो काम एक चुनौती नै चुनौतीले जेलिएको काम थियो । हामी लगभग दुई घण्टा जति चुचुरामा बस्यौंँ । चुनौतीलाई सामना गर्ने लक्ष्यका साथ बसेको कारणले सबै चुनौती याद छैनन्, तथापि हामीलाई लगभग माइनस ४३ डिग्री तापक्रमको त्यो कष्टकर समयमा, अन्धकारमय हुंँदै चुचुरामा यन्त्र, उपकरण सेटअप गर्न सफल भयौंँ । हाम्रा यन्त्र, उपकरण निकै महँगा र संवेदनशील थिए । पातलो पञ्जा लगाएर या खाली हातमा काम गर्नुपर्ने भएकाले निकै चुनौतीपूर्ण थियो ।

त्यसमा पनि चुचुरामा सामान्यतया १०-१५ मिनेट मात्र रहन सक्छन् साधारण आरोहीहरू, तर हामीलाई छोटो समय बस्ने छुट थिएन, किनकि छोटो समयको डाटाले हाम्रो नापी विभागको शुद्धतालाई समेट्न सकिँदैनथ्यो, त्यसकारण पनि लामो समय बसेर लामो अवधिको तथ्याङ्क लिन सक्नु अर्को चुनौतीपूर्ण थियो । अनौपचारिक तवरबाट बुझ्दा चिनियाँहरूको समिट अब्जरभेशनको समयावधिभन्दा हाम्रो समयावधि धेरै थियो भन्ने बुझिन आएको छ ।

उचाइ मापनका लागि जति धेरै अवधिको तथ्याङ्क लिन सकियो, त्यति नै शुद्ध उचाइ गणना गर्न सकिने भएकाले नापी विभागले धेरै परिशुद्ध उचाइ मापन गरेको छ भन्न हामी सक्छौंँ । चुचुरामा धेरै समय बिताउँदा मेरो खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो । फेरि पनि त्यो ऐतिहासिक कार्यको मैदानमा अरु कुरा गौण बने ।

  • मापनका लागि प्रयोग गरिएका उपकरणबाट कुनै समस्या त भएन ?

गौतमः हामीले सोचेभन्दा निकै राम्रो भयो, समस्या भएन, किनकि हामी भाग्यमानी थियौँ जस्तो लाग्छ ।

  • सगरमाथाको उचाइ हिउँसहित नापिएको हो कि हिउँविना ?

गौतमः स्थायी हिउँले ढाकिएको एक पहाडको चुलीलाई हिमाल भनिन्छ । अर्थात् सबै हिमालहरु पहाडहरु हुन् तर सबै पहाडहरु हिमाल हैनन् । हाल सगरमाथाको उचाइ भनेको स्थायी हिउँसहितको नाप हो । यसर्थ हिमालको परिभाषाबाट पनि सहजै बुझ्न सकिन्छ कि हिमालको उचाइ भन्नु स्थायी हिउंँ सतहसहितको उचाइ नै हो ।

  • यसभन्दा पहिला नाप्दा आठ हजार ८५० आयो रे भन्न कुरा आएको थियो ?

गौतमः अमेरिकाले नाप्दा आठ हजार ८५० मिटर आएको हो । सन् २००५मा चीनले स्थायी हिउँबाहेकको चट्टानी सतहको सगरमाथा नाप्दा आठ हजार ८४४.४३ मिटर उचाइ आएको थियो । अहिलेको कुरा त थाहा भइसकेको छ, दुवै देशबाट मापन गरेर सगरमाथाको उचाइको एउटै अङ्क सार्वजनिक भएको छ ।

  • गोरखा भूकम्पका क्रममा इण्डियन प्लेटले तिब्बतियन प्लेटलाई धकेलेपछि उचाइ बढेको हो त ?

गौतमः यो नापी विभागको र मेरो पनि मूल विषय हैन । यसमा अब भूगर्भविद्हरूले अनुसन्धान गर्लान् शायद । यसअघि विभिन्न अन्तरराष्ट्रियस्तरका भूगर्भविद्हरूले विभिन्न कालखण्डमा गरेको अध्ययनअनुसार इन्डियन प्लेट निरन्तर रूपमा दुई सेन्टिमिटरका दरले तिब्बतियन प्लेटभित्र घुसिरहेको र ८ मिलीमिटर दरले उचाइ बढिरहेको भन्ने तथ्य यसअघि नै भूगर्भविद्हरूले सार्वजनिक गरेका थिए । यस तथ्यलाई मनन गर्दा समेत हाल सगरमाथाको उचाइ बढी आउनु वैज्ञानिक कारण छ भन्ने देखिन्छ ।

  • चीन र नेपालको मापन गर्ने तरीका एउटै थियो त ?

गौतमः हामीले जुन विधिबाट मापन गरेका थियौंँ, ठीक त्यही विधि अवलम्बन गरेर चीनले पनि उचाइ मापन गरेको कुरा मिडियामा आएको छ, त्यही नै सत्य हो ।

  • दुई देशका प्राविधिकबीच कत्तिको सम्पर्क र समन्वय भयो ?

गौतमः हामीले हाम्रातर्फबाट काम गरेका हौंँ, खासमा म त्यो दुई देशको समन्वय र सम्पर्क गर्ने मेरो जिम्माको काम थिएन । तर पनि दुई देशबीचमा प्राविधिक तहमा समेत विभिन्न प्राविधिक समिति बनाई संयुक्त उचाइ सार्वजनिक गर्ने काममा सम्पर्क र समन्वय भएको थियो, जसले गर्दा दुवै देशबाट एउटै उचाइ एकै कार्यक्रममार्फत घोषणा गर्न सम्भव भयो ।

  • यहाँ पहिलोचोटि भ्रमण वर्ष २०११ को पर्यटन प्रवद्र्धनका लागि सगरमाथा चढ््नुभयो, दोस्रो चोटि उचाइ नाप्ने कार्यदलको संयोजकका रुपमा सगरमाथा पुग्नुभयो, यो दुई अवसरलाई कसरी लिनुहुन्छ ?

गौतमः म के कुरामा खुशी छु भने मैले हालसम्म दुई पटक सगरमाथा आरोहण गर्ने नेपालको एक मात्र कर्मचारी हुने सौभाग्य प्राप्त गरेको छु । पहिला पर्यटन प्रवद्र्धन गर्नका लागि मात्र सगरमाथा आरोहणमा जाँदा धेरै चिन्ता, प्रेसर थिएन, काम पनि केवल चढ्नु मात्र थियो, तर हाल यो उचाइ मापनका लागि तथ्याङ्क लिन सगरमाथा आरोहण निकै चुनौतीपूर्ण र ऐतिहासिक पनि रह्यो भन्ने महसुस गरेको छु । दुःख पनि अलि बढी भयो उचाइ मापनका लागि आरोहण गर्दा । हिमाल चढ्नु आफँैंमा कठिन काम हो, त्यसमा कुनै निश्चित वैज्ञानिक कार्य गर्नका लागि आरोहणमा जानु अत्यन्त चुनौतीपूर्ण हुने रहेछ भन्ने महसुस भयो । मलाई लाग्छ, यी दुवै अवसरहरू मेरो जीवनमा कोसेढुङ्गाका रुपमा रहिरहने छन, मेरो जीवनका सबै सुखदुःखका बहारहरू ल्याउन कतै न कतै यी दुई वटा आरोहणले भूमिका खेलेका छन् जस्तो पनि लाग्छ ।

  • अहिलेको मापनचाहिँ पहिलेभन्दा आधिकारिक मानिने कारण ?

गौतमः यसपालि हालसम्म प्रयोग भएका सबै विधि अवलम्बन गरेर मापन गरिएको हो । यसअघि मापन गर्दा कुनै एक स्थानको समुद्री सतहलाई मात्र आधार मानी उचाइ संगणना भएकामा हाल यस सम्बन्धमा अन्तरराष्ट्रिय उचाइ आधार सतहलाई लिई भएको हो, जसले गर्दा उचाइमा द्विविधा हट्न गएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरेर मापन गर्दा सर्भेयरहरू स्वयं नै चुचुरामा पुगी मापन गर्नुपर्नेमा यसअघि अमेरिका, चीनलगायतका मुलुकहरूले सगरमाथा मापन गर्दा सर्भेयरहरू पठाउन नसकेको तर हाल नेपालले सर्भेयरहरू नै चुचुरामा पठाई मापन गरेकाले पनि बढी बिश्वसनीय देखिएको हो ।

नेपालको सगरमाथामा नेपाली सर्भेयरहरूको नै सबैभन्दा पहिलो पाइला पर्न सफल भएको छ, जुन ऐतिहासिक पनि हो संसारभरका सर्भेयरहरूका लागि । नेपालले सन् २०१९ मा सर्भेयरकै नेतृत्वमा समिट उचाइ मापन गर्नका लागि अब्जरभेशन टोली पठाएपछि त्यसको ३७० दिनपछि मात्र चीनले सर्भेयरहरुसमेतको टोली सर्भेका लागि चुचुरामा पठाएको हो । चीनले मापन गरेको तथ्याङ्कसँग तुलना गरेर हेर्दासमेत एउटै उचाइ आउन गई एउटै अङ्क घोषणा हुनुले समेत यसको थप आधिकारिकता पुष्टि हुन गएको छ ।

यसअघि गरिएका सबै उचाइ मापनमा सबै देशहरूले आआफ्नै तवरबाट मात्र उचाइ घोषणा गरेका थिए, तर अहिले त सबैभन्दा मुख्य कुरा सगरमाथाको चुचुरो भएको देशले नै पहिलोपटक आधिकारिक तवरबाट मापन गरेर उत्तरी भागको स्वामित्व रहेको देशले गरेको सर्भेसँग समेत मेल खान गएको छ, यो जति परिशुद्ध उचाइ हालसम्म मापन गरिएको थिएन र यो नै सबैभन्दा परिशुद्ध उचाइ हो भन्नेमा संसारभर पुष्टि हुन गएको छ । यिनै आधारबाट पनि भन्न सकिन्छ कि यो उचाइ हालसम्मकै सबैभन्दा विश्वसनीय र आधिकारिक हो ।

  • यहाँ अध्यात्मप्रति पनि उत्तिकै रूचि राख्नुहुन्छ र अध्ययन पनि गर्नुहुन्छ । हिमाललाई देवात्मा पनि भनिन्छ, किन ?

गौतमः महाकवि कालिदासले आफ्नो शास्त्रीय रचना ‘कुमारसम्भव’मा यसलाई पहाडहरूका राजा भनेर वर्णन गरेका छन् । ‘कुमारसम्भव’ महाकाव्यको पहिलो श्लोकमा नै समग्र हिन्दकुश हिमालयका सम्बन्धमा यसरी व्याख्या गरेका छन्ः
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः ।
पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।। (प्रथम सर्ग, श्लोक !)
(अर्थात् यस भारतवर्षको उत्तर दिशामा देवताहरूको आत्माको बास भएको पर्वतको राजा हिमालय पर्वत छ, जसले पूर्वदेखि पश्चिमसम्म दुवै दिशाका महासागरहरूलाई छुँदै फैलिइरहेको छ र यसो हेर्दा यसले पृथ्वीलाई नाप्ने कुनै मापदण्ड बनाएको हो कि जस्तो पनि देखिन्छ)”

पूर्वीय सभ्यतामा हिमालयलाई ईश्वरको रूप समेत मानिएको छ । वैदिककाल र पुराणकालदेखि नै हिमाललाई देवताहरूको आत्माको बास रहेको पुण्यभूमिका रुपमा व्याख्या गरिएको पाइन्छ । हिमाल र यस क्षेत्रका बारेमा ‘स्कन्दपुराण’को ‘हिमवत्खण्ड’मा विस्तृत तवरबाट व्याख्या गरिएको छ, प्रायः सबैजसो पुराणहरूमा समेत हिमालको आध्यात्मिक र दार्शनिक महत्वका बारेमा व्याख्या गरिएको पाइन्छ । यसर्थ मानव सभ्यताको शुरुआत पनि यही हिमालयका काखबाट र त्यसमा पनि हाम्रै नेपालकै भूमिबाट भएको हो भनेर भन्न सकिने समेत कतिपय आधारहरू वैदिक शास्त्रहरूमा भेटिन्छन् ।

  • जिम्मेवारी पूरा गरेर अवतरण गरेको पलमा यहाँले विशेष के कुरालाई स्मरण गर्नुभयो ?

गौतमः जब चुचुराको प्राविधिक काम सकियो, त्यसपछि मैले अरू कुनै कुरा सोच्न पाइन, किनकि रेकर्ड गरिएको तथ्याङ्कलाई अब कसरी सुरक्षित तवरबाट तल ल्याउने भन्ने मात्र सोच्न पुगेंँ । हामीलाई २०७६ साल जेठ ९ गते सगरमाथाको लगभग छ हजार ५०० मिटरको उचाइबाट क्याम्प –२ बाट काठमाडौंँ ल्याइयो । मैले खासै धेरै सोच्ने समय पनि पाइन, मनमनै परिवारको त याद आउने नै भयो तर त्यसभन्दा पनि म एक आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सकेकामा खुशी भएको थिएँ । सफलताको खुशीमा काम गर्ने क्रममा लागेका चोटहरूसमेत भुलिसकेको थिएँ, सफलताले कयौँ दःुखहरू पनि भुलिँंदो रहेछ भन्ने कुरा सुनेको थिएँ, मलाई पनि त्यस्तै भयो ।

  • सगरमाथाको विस्तृत अध्ययनसहित उचाइ मापनको अनुभवका बारे यहाँले लेख्दै गरेको पुस्तक पाठकले कहिले पढ्न पाउँछन् ?

गौतम:  मैले यही लकडाउनको मौका पारेर सगरमाथासम्बन्धी केही अध्ययन गर्ने अवसर जुटाएँ । यही अवसरमा मैले खासगरी सगरमाथाको समग्र इतिहास, यससँग नेपाली जातिको सामिप्यता, भूगोल र इतिहाससमेत समेट्दै मेरा दुई पटकका सगरमाथा यात्राका भोगाइ र अनुभवलाई समेत समेटेर किताब लेखिसकेको छु । अहिले भाषा सम्पादनका क्रममा छ । अनपेक्षित कुनै परिघटना नभएमा अबको तीन महिनाभित्र बजारमा ल्याउने मेरो योजना छ ।

  • सगरमाथा मापन आरोहणका क्रममा बाटामा शवहरु पनि देख्नुभयो रु फोहरको कुरा पनि निकै उठ्ने गर्छ, कस्तो पाउनुभयो ?

गौतमः हामी यस अभियानका क्रममा माथि उक्लँदै गर्दा विशेषतः सगरमाथाको क्याम्प –२ मा मैले एक लाश देखेको थिएँ । त्यहाँ पहिलादेखि नै आरोहणमा सहभागी हुँदै आएका शेर्पा दाजुभाइहरूसँग सोधपुछ गर्दा उक्त लाश एक जना रसियन आरोहीको रहेछ । माथि साउथ कोलमा विसं २०७५ मा आरोहणका क्रममा मृत्यु भएका उनीलाई क्याम्प– २ सम्म ल्याइएको रहेछ ।

एक वर्षसम्म पनि उक्त लाश हामीले हेर्दा उनको हातको घडी भने चलिरहेको र ठीक समय देखाइरहेको थियो, उनले लगाएको घडी कति ओरिजिनल रहेछ भन्ने सोचेर म अचम्मै भएँ तर पछि हामी समिट अब्जरभेसनको कार्य सकेर फर्कँदै गर्दा उक्त लाश त्यहाँ थिएन, उद्धार र सरसफाइ टोलीले तल झारिसकेको थाहा पायौंँ । माथि क्याम्प –४ (साउथ कोल) तिर केही मानव कङ्कालहरू पनि देखेका थियौंँ तर हामी फर्कँदैं गर्दा सफा गरिसकिएका थिए । पोहोर सालसम्म हामीले हेर्दा बाहिरै देखिएका लाशका कङ्कालहरू लगभग सबै व्यवस्थापन गरिसकिएको छ ।

सगरमाथाको फोहरको कुरा गर्दा जति बजारमा हल्ला आएको छ, वास्तविक स्थिति त्यस्तो छैन, अहिले धेरै सुधार भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले र संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले सरसफाइका लागि पछिल्ला दिनमा धेरै नै ध्यान दिइरहेका छन् । आजभन्दा १० वर्ष अगाडिको स्थितिलाई हेरी अहिले पनि सगरमाथा फोहोर छ भनेर अलि बढी अतिरञ्जित गरिएको हो कि जस्तो छ ।

  • यो महत्वपूर्ण कार्यसम्पादनमा यहाँको पछाडि रहेर पनि धेरे योगदान गर्नेहरु होलान्, उहाँहरुलाई कसरी सम्झनुहुन्छ ?

गौतमः यो वास्तवमै सामूहिक काम हो । विशेषतः यो नेपाल सरकारको काम हो, नेपालको आधिकारिक नापनक्शा गर्ने निकाय नापी विभाग भएकाले समग्र नेतृत्व विभागले गरेको हो । यसमा हाम्रा आदरणीय महानिर्देशक प्रकाश जोशी, सगरमाथा उचाइ मापनको समग्रतामा हेर्ने उपमहानिर्देशक सुशील डङ्गोल, निर्देशक दामोदर ढकाल, तथ्याङ्क प्रशोधनमा दिनरात नभनी खटिएका नापी अधिकृतहरू सुरजबहादुर केसी, महेश थापा, विज्ञान बञ्जारा, शङ्कर केसी, स्टालिन भण्डारीलगायतका सबैसबैको विशिष्ट योगदानविना यो कार्य हुन निकै गाह्रो थियो ।

यसको शुरुआत गर्ने बेलामा विशिष्ट योगदान गर्ने महानिर्देशकमध्ये गणेशप्रसाद भट्टको नाम नलिँदा पनि यो अपूरो हुन्छ । नापी विभागका विभिन्न तह र तप्कामा रही फिल्डमा डटेर लागेका सर्भेयरहरूको समेत महत्वपूर्ण योगदान बिर्सन हुंँदैन जस्तो लाग्छ । यसमा मन्त्रालयबाट वार्षिक नीति तथा कार्यक्रममा समेट्ने, आवश्यक बजेट व्यवस्था गर्ने सहसचिव जनकराज जोशीसरको समेत विशिष्ट योगदान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?