अनुपम भट्टराई/ काठमाडौं । कोरोना महामारीका कारण विश्वले ठूलो जनधनको क्षति व्यहोरेको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरको हुवेई प्रान्तबाट कोरोना भाइरसको संक्रमण फैलिएको भनिएपनि हालसम्म यसको बारेमा कुनै आधिकारिक प्रमाण फेला परेको छैन ।
डब्ल्यूएचओले चीनबाटै कोरोना फैलिएको हो वा होइन भन्ने बारेमा अनुसन्धान गर्न केहि टोलीलाई चीन पठाइसकेको छ भने केहि अनुसन्धानकर्ताहरुको टीमलाई आउँदो जनवरीमा चीन पठाउने तयारी थालेको छ । विश्वमा विभिन्न कम्पनिले कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेका छन् । केहि कम्पनिले आफ्ना खोपहरु बजारमा ल्याएका छन् भने केहिको अन्तिम तयारीमा रहेको छ । कतिपय देशका राष्टप्रमखले खोप पनि लिइसकेका छन् । बेलायत, चीन, रुस अमेरिका, स्विजरल्याण्ड लगायतका देशमा जनतालाई समेत विभिन्न चरण र डोजका खोप दिन थालिएको छ ।
यतिबेला बेलायतमा फाइजर बायोएनटेकको कोरोना भ्याक्सिन प्रयोग गरेपछि नयाँ स्ट्रेनको कोरोना भाइरस फेला परेको बताइएको छ । जसका कारण सारा विश्वमा नै यसको चिन्ता बढीरहेको छ र पहिल्यैबाट कोरोनासँग त्रस्त मानिसहरु झनै डरले कायल भएका छन् ।
बेलायतमा यो नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि विभिन्न देशहरुले बेलायतसँगको हवाई उडान र सीमा नाकाहरु बन्द गर्न थालेका छन् । छिमेकी देश भारतले समेत ३१ डिसेम्बरसम्मका लागि फ्लाइट्समा रोक लगाएको छ । यूरोपकै १३ देशहरुले बेलायतबाट आउने मानिसलाई आफ्नो देशमा आउन प्रतिबन्ध गरेका छन् ।
समग्रमा नयाँ प्रकारको कोरोना भाइरसको प्रकोप फेला परेपछि हालसम्म ४० भन्दा बढी देशहरुले बेलायतमा यात्राको प्रतिबन्ध लगाइसकेका छन् ।
बेलायतपछि हिजो (सोमवार) मात्रै इटालीमा पनि कोरोना भाइरसको नयाँ प्रकोप भेटिएको छ । बेलायतबाट इटाली गएका एक व्यक्तिमा कोरोना भाइरसको नयाँ प्रकोप पाइएको हो ।
त्यस्तै इटालीपछि अहिले डेनमार्कमा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ । जसका कारण स्विडेनले डेनमार्क यात्रामा प्रतिबन्ध लगाइदिएको छ । साथै स्विडेनले बेलायतबाट आउनेलाई पनि यात्रामा प्रतिबन्ध लगाइदिएको छ ।
यो निर्णय स्विडेनले मंगलवार बिहान लिएको हो । जारी बयानमा फ्रान्स, इजरायल र जर्मनीले बेलायतलाई लिएर गरेको निर्णयमा स्विडेनको पनि समर्थन रहेको बताइएको छ । योसँगै बेलायतबाट आउने यात्रीहरुमा प्रतिबन्ध लगाउने स्विडेन ४० औँ देश बनेको छ ।
नयाँ प्रकारको भाइरस कति घातक ?
अहिले विश्वभरमा यसको चर्चा धेरै नै चलिरहेको छ । नयाँ स्ट्रेनको भाइरस पहिलेको कोरोना भाइरसको तुलनामा धेरै संक्रामक भएको बताइएको छ । तर भाइरसको नयाँ स्ट्रेन कति सम्मको घातक छ भन्ने कुरा हालसम्म पुष्टि भइसकेको छैन ।
विश्व स्वास्थ्य संगठनले यस बारेमा एक जानकारी दिएको छ । बेलायतमाथि यात्रामा प्रतिबन्ध लगाउने देशहरुको सूची बढ्दै गइरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी फैलिरहेको बेलामा कोरोनाको नयाँ स्ट्रेन भेटिनु सामान्य भएको बताएको छ ।
डब्ल्यूएचओका आपत्कालीन चीफ माइक रायनले भने, महामारीको फैलावट भइरहेको समयमा नयाँ स्ट्रेन भेटिनु सामान्य कुरा हो, तर यो अनियन्त्रित भने भइसकेको छैन । साथै उनले अब यसको बारेमा डब्लयूएचओले चाँडै नै अनुसन्धान गरेर स्पष्ट जानकारी दिने बताएका छन् । तर आइतवार मात्रै बेलायतका सवास्थ्य सचिव म्याट हेनककले नयाँ प्रकारका लागि अनियन्त्रित शब्दको प्रयोग गरिसकेका थिए ।
केहि देशहरुले बेलायतबाट आउने मानिसका लागि मात्रै नभएर दक्षिण अफ्रिकी देशबाट आउने मानिसहरुमा पनि यात्राको प्रतिबन्ध लगाएका छन् । यसको कारण बेलायतमा भन्दा फरक किसिमको भाइरसको भेरियन्ट त्यहाँ भेटिएको छ ।
विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी चीफ माइकल रायनले महामारीको यो अवस्थामा आएको कोरोना भाइरसको नयाँ स्ट्रेन डरलाग्दो हुनसक्ने बारेमा भने जानकारी दिएका छन् । उनले बेलायतमा कोरोना नियन्त्रणमा नआएको बताउँदै यसलाई गम्भीरताका साथ लिनुपर्ने पनि बताएका छन् ।
के हो कोरोना भाइरस ?
यो नयाँ प्रजातिको भाइरस हो। यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ। कोरोना भाइरस मानिस र पशुमा संक्रमण हुन्छ।
जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन। मानिसमा कसरी यो भाइरसबाट संक्रमित भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। सन् २००३ मा देखिएको सार्स र नोबेल कोरोना एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन्।
कोरोना भाइरस पैदा भएको एक वर्ष पुग्दा समेत कोरोना भाइरसको भ्याक्सिन बनाउन पूर्ण रुपमा वैज्ञानिकहरु असमर्थ छन् ।
कोरोनाको उद्गमस्थल भनिएको चीनले भने महामारी नियन्त्रण गर्न सफल भएको छ । महामारी फैलिएको लगभग ६ महिना भित्रमा चीनले कोरोना नियन्त्रण गर्न सफल भएको थियो । अहिले चीनमा ८६ हजार ८६७ जनालाई कोरोना संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।
त्यस्तै वर्षदिनमा विश्वमा कोरोना भाइरसका कारण १७ लाख ९ हजार ७ जनाको मृत्यु भएको छ भने ७ करोड ७७ लाख १७ हजार ८४७ जनालाई कोरोना संक्रमण भएको । त्यस्तै ५ करोड ४५ लाख ९२ हजार ९८१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ६ हजार २७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेपालमा पनि गत वर्षको माघ १० गते पहिलो पटक चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमूना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो। त्यस बेलासम्म भाइरसले युरोपमा कहर मच्चाइसकेको थियो ।
अमेरिकमा भाइरसको प्रभाव अलिअलि देखिँदै थियो। पहिलो केस भेटिएको दुई महिनासम्म कुनै केस नेपालमा देखिएन । तर चैत १० गते नेपालमा कोरोनाको दोस्रो केस देखियो। र, ११ गते बाट सरकारले लकडाउन गर्यो। त्यसको केहि समय पछि नेपालमै कोरोना परीक्षण गर्न थालिएको हो । हालसम्म नेपालमा कोरोना भाइरसका कारण १ हजार ७९५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५४ हजार ५१४ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ लाख ४४ हजार ७४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिले क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ भने हालसम्म नेपालमा १८ लाख ७७ हजार १८१ जनाको स्वाब संकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया