अमेरिकी राष्ट्रपति बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने, ट्रम्पले के गर्ला ?

अमेरिका- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन्  । उनले सोमबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मोडर्नाले उत्पादन गरेको खोप उनले अमेरिका ल्याएकै दिन लगाउन लागेका हुन्  । अमेरिका ल्याइएको यो दोस्रो खोप हो । अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो ।

कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट सङ्क्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ । “मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हो,” उनले भने ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ । उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाएका थिए  ।

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को हप्ता पहिलो पटक खोप लगाउने अपेक्षा गरिएको छ । विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाएका  छैनन। कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उनले भने अहिलेसम्म नलगाएका हुन् ।

सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उनले पनि खोप लगाउनु पर्नेमा जोड दिने गरेका छन् । खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आएका राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताएका थिए  । तर उनले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहेको जनाइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ब्रियन मोर्गेनस्टर्नले राष्ट्रपति ट्रम्पले उपयक्त समयमा खोप लिन सक्ने  र त्यो समय आउन सक्ने जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?