‘ओलीकै नेतृत्व आवश्यक छ’ भन्दै यसो भन्छन् लेखराज भट्ट

काठमाडौं – उद्योगमन्त्री लेखराज भट्टले अहिले देशका लागि प्रधानमन्त्री ओलीको विकल्प नभएको बताउँदै आफूले राजीनामा नगर्नुको कारणबारे संकेत गरेका छन् ।

आज (सोमवार) विहान बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा सहभागी हुँदै पूर्वमाओवादी खेमाका नेता भट्टले पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि चौतर्फी घेराबन्दी गरिएको भएको बताए । उनले भने, ‘नेकपा नेतृत्वको सरकारले राम्रो काम गर्दै अगाडि बढेको समयमा सरकार गिराउने खेल भएका थिए ।’

मन्त्रि भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् ।

उनले भने, ‘यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल समूह लागेकाले मैले साथ दिन सकिनँ ।’

हिजो (आइतबार) प्रधानमन्त्रीले संसद भंग गर्ने प्रस्तावपछि खैलाबैला मच्चिएको नेपाली राजनीतिमा धेरैखालका उतारचढाव आए । राष्ट्रपतिबाट जब संसद भंग गर्ने सरकारको निर्णयको अनुमोदन भयो त्यसपछि ओली पक्षधर र माधव कुमार नेपाल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताका मन्त्रिबीचमा कित्ताकाँट भए । पूर्व माओवादी पक्षका मन्त्रि लेखराज भट्टले राजीनामा दिएका थिएनन् । त्यस्तै गृहमन्त्री समेत रहेका रामबहादुर थापाले पनि राजीनामा दिएका थिएनन् । यसैबीच मन्त्रि भट्टले थपे, ‘इतिहासमा सबैभन्दा बढी काम गरेको सरकार नै यही हो, कम्युनिष्ट आन्दोलनका लागि र देशलाई सही दिशा दिनका लागि अहिले ओलीको नेतृत्वको विकल्प छैन,’ उनले भेलालाई सम्बोधन गर्दै भने, ‘तर, यो सरकारलाई घेराबन्दीमा पारियो । काम नै गर्न नदिने हिसाबको क्रियाकलाप र व्यवहार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?