संसद् विघटन : सैनिक मुख्यालयमा ‘छलफल’, चारवटै सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौं – देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली सेनाले आन्तरिक छलफल गरेको छ।

सैनिक मुख्यालयमा पृतनापति सहितको उच्च सैनिक अधिकृतहरूको बैठकमा छलफल भएको बीबीसीले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले पीएसओ बैठक नियमित भएको त्यसमा ‘सधैँजस्तै देशको पछिल्लो परिस्थितिले प्रवेश पाउनु पनि स्वभाविक’ भएको बताए।

उनले भने, ‘शान्ति सुरक्षाको स्थितिलाई नजिकबाट नियाल्न पहिले पनि निर्देशन दिने गरिएको थियो। पछिल्लो स्थितिमा पनि कतै जुलुसहरू निस्किने लगायतका क्रियाकलाप हुनसक्ने र त्यसमा प्रहरी र सशस्त्र प्रहरीको भूमिका हुने गरेकोमा स्थानीय प्रशासनको सहकार्यमा आवश्यक परे नेपाली सेनाले सहयोग गर्दै आएको छ।’ बीबीसी

नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ ।

चारवटै सुरक्षा निकाय हाई अलर्टमा

पछिल्लो निर्णय गरेसँगै चारै वटा सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएको छ । चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

फिल्डमा प्रमुख रुपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका छन्  ।

सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको सम्बन्धिन सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?