काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको प्रस्ताव अस्वीकार गर्न अपील गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका प्रधानमन्त्री ओलीले मन्त्रिहरुलाई जानकारी दिए लगत्तै शीतलनिवास पुगी संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको विषयले नेपाली राजनीतिमा बबण्डर मच्चिएका बेला प्रतिपक्षी कांग्रेसले सो प्रस्ताव अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गरेको हो ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको उक्त कदम संविधानको अक्षर, मर्म र भावनाविपरित रहेको र त्यसलाई कांग्रेसले गम्भीर रुपमा प्रतिवाद गर्ने समेत उल्लेख छ । “यो कदम अक्षर, मर्म र भावना विपरीत छ । नेपाली कांग्रेसले यसलाई राजनैतीक रुपमा गम्भीर रुपमा प्रतिवाद गर्नेछ । “ जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले वर्तमान सरकारले चुवावका बेला स्थिरताको चर्को नारा दिएको र पार्टी भित्रको द्वन्दको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोजेकोप्रति आपत्ती जनाउँदै ओलीको प्रवृत्ति गलत गरेको समेत ठहर गरेको छ ।
कोरोना महामारीका बेला सरकार सत्ताको जित हारमा लाग्नु आफैमा लज्जास्पद रहेको भन्दै कांग्रेसले संसद विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रुपमा लिएको र उक्त प्रयत्नलाई असफल तुल्याइने चेतावनी समेत दिएको छ । “जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैँमा लज्जास्पद थियो र छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रुपमा हामीले लिएका छौँ र उद्घोष गर्दछौँ यो असफल प्रयत्नलाई असफल तुल्याइनेछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया