काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि सबै सम्भावना टरेका कारण आफूले संसद विघटनको प्रस्ताव गरेको बताएका छन् । आज (आइतवार) संसद विघटन प्रस्ताव मन्त्रिपरिषद् मा लगेका प्रधानमन्त्री ओलीले बैठकमा यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेपछि मन्त्रीहरुले त्यसको प्रतिवाद गरेका थिए।
के भएको थियो आजको बैठकमा ?
प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको बैठकमा सिधै उनले संसद विघटनको प्रस्ताव गरेपछि केहीबेर माहोल शून्य बन्यो ।
त्यसपछि ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुषाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले एकै स्वरमा तत्काल प्रतिवाद गरेका थिए।
संसद विघटनले मुलुकलाई निकै ठूलो क्षति पुर्याउनेतर्फ संकेत गर्दै उनीहरुले त्यसो नगर्न प्रधानमन्त्री केपी ओलीलाई सजग गराएका थिए ।
बैठकमा सहभागी एक मन्त्रिले लोकपथसँग भने- केहीबेर मन्त्रीहरुको कुरा सुनेपछि ओलीले जवाफ फर्काए ”सहमतिको प्रयास देखिन मैले ।”
प्रधानमन्त्रीको कुरा सुनेर अन्यौलता छाएको बैठकमा उपस्थित मन्त्रीहरुले भने, ‘’पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गरौँ त्यहीँबाट निकास निकालौँ। यसले मुलुकलाई नै ठूलो क्षति पुर्याउँछ ।’’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले थपेका थिए , ‘संसद विघटनले अन्ततः व्यवस्थामाथि नै प्रश्न उठाउँछ त्यस्तो गर्नुहुँदैन।’
पार्टीभित्र देखिएको विवादलाई मुलुक र जनतालाई क्षति पु-याउनेगरी संसद विघटन गर्न नहुनेमा तीनैजना मन्त्रीले निकैबेर प्रधानमन्त्रीलाई दोहोर्याएर सचेत गराएको ती मन्त्रीले बताए।
बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले संसद विघटन गर्ने सुविधा नदिएको भन्दै घुमाउरो भाषामा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । करिब २० मिनेट बैठकमा रहेका प्रधानमन्त्री, ‘तपाईहरुले आफ्नो कुरा राख्नुभयो धन्यवाद’ भनेर हिँडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया