स्वास्थ्य सामग्री खरिद प्रक्रियामा मेरो कुनै संलग्नता छैन : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रवारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् ।

उनले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । तर आफुले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरुद्धमा सहजिकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताए । उनले भने ‘यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीका विरुद्ध सहजिकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु ।’

आफुले सहजिकरणका लागि मात्रै नीतिगत हिसाबले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र तलबाट उठेको विषयलाई स्वीकृति दिने काम मात्रै गरेको बताए । त्यसबाहेक अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफुले नगरेको पनि दावी गरे । उनले भने ‘भएका विषयहरुलाई सहजिकरण गर्न अप्ठेरो परिस्थितिको सामना गर्ने विषयमा नीतिगत हिसाबले मन्त्रिपषिद्मा यो प्रस्ताव लाने, तलबाट उठेको विषयलाई मैले स्वीकृति दिएको मात्र हो । यसमा अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेपको विषय नभएको व्यहोरा पनि म सादरपुर्वक अनुरोध गर्न चाहन्छु ।’

मन्त्री ढकालले चैत ९ गते मन्त्रिपरिषदको निर्णय भए अनुरुप र चैत ११ गते उच्चस्तरिय समन्वय समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धमा १२ गतेका निर्णयहरु भएको बताए । तर आफु १२ गते १ बजे देखि ३ बजेसम्म स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा सहभागि भएको तर त्यसपछिका कुनैपनि कार्यक्रममा सहभागि नभएको समेत बताए । त्यसपछिका सबै प्रक्रियामा स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशककै नेतृत्वमा कामहरु भएको पनि बताए । उनले भने ‘१२ गते स्वास्थ्य सेवा विभागको आयोजनामा मन्त्रालयमा हामीले भेला गरेका थियौं । त्यो कार्यक्रमको प्रमुख अतिथिको रुपमा म उपस्थित छु र एक बजे देखि तीन बजे सम्म त्यो कार्यक्रम भयो । त्यस्ता कार्यक्रमहरु पनि चरणचरणमा भएका थिए । त्यो भन्दा पछि ७ वटा समूह छनोट गर्ने कुरा त्यो पछिका अरु प्रक्रियामा सम्बन्धित विभाग र विभागको महानिर्देशक कै नेतृत्वमा यी कामहरु भएका हुन् ।’

खरिद प्रक्रियामा मन्त्रीको स्वास्थ्य विज्ञ सहभागि हुने विषयमा समेत मन्त्री स्तरबाट कुनै निर्णय नभएको पनि मन्त्री ढकालले बताए । तत्कालिन महाप्रबन्धकको तर्फबाट मन्त्रीको विज्ञ सल्लाहकार त्यो विषयको जानकार भएको कारणले त्यस सम्बन्धी जानकारी लिनलाई सहमागि गराइएको बताए । खरिदका लागि सम्झौतागर्ने, सम्झौता खारेज गर्ने सबै अधिकार पूर्णरुपमा महाप्रबन्धकको भएकाले पनि आफुसँग सम्बन्धित नरहेको समेत बताए ।

उनले भने ‘सम्झौता गर्ने, सम्झौता खारेज गर्ने, आर्थिक अधिकार देखि यो सम्पूर्ण विषयमा कानुनतःपनि यो महाप्रबन्धकको अधिकार भएको व्यहोरा म सम्मानित समितिलाई जानकारी गराउन चाहन्छु र १९ गते स्वयं महाप्रबन्धकले यो सम्झौता एकपच्छिय ढंगले खारेज गरेका कारणले पनि कानूनतः यो विषय त्यहीसँग सम्बन्धित हो भन्ने कुरा छ । यसमा परिस्थिति गम्भिर, अप्ठेरो, सामग्रीहरुको अभावमा भयाभह हुनसक्ने स्थितिलाई मध्यनजर राखेर छिटो छरितो गर्ने विषयमा सहजिकरण गर्नको निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विषयमा मन्त्रीको हैसियतले मैले सहमति जनाएको थिएँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?