१०० जना कुष्ठरोगीलाई आर्थिक सहयोग

काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेका कुष्ठरोगीको जीविकोपार्जनका लागि एक संस्थाले आर्थिक सहयोग गर्ने भएको छ । द ल्याप्रोसी मिसन नेपालले मोरङ, सुनसरी र झापा जिल्लाका १०० कुष्ठरोगीलाई एक वर्षका लागि सहयोग परियोजना सञ्चालनमा ल्याउने भएको छ ।

यो रोग भगवान्को श्राप नभएर जीवाणुको कारण हुने विषय सबै नागरिकलाई बुझाउन आवश्यक छ । तीन जिल्लाका कुुष्ठरोग प्रभावित व्यक्तिलाई स्वरोजगार बनाउन रु २५ हजार बीउ पूँजी, कुष्ठरोगी र उनीहरुको परिवारलाई खाद्यान्न सहयोग, शुल्क बुझाउन नसकी अध्ययन छुटेका बालबालिकाको शुल्क भुक्तान, शैक्षिक सामग्री प्रदान गरी रु ३५ लाख ३० हजार रकम खर्च गर्ने मिसन नेपालका प्रदेश नं १ का प्रमुुख विपीन दासले जानकारी दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुुलीले कुुष्ठरोग नियन्त्रणका लागि जनचेतना जागृत गराउनुपर्नेमा जोड दिँदै संस्थाले सही तथ्याङ्क उपलब्ध गराउन आग्रह गरे । यो तथ्याङ्क कुष्ठ रोग हेर्ने कोशी अस्पताल इकाइमा र सहयोगी संस्थामा पनि उपलब्ध नभएकोले महानगर प्रमुख पराजुलीले तथ्याङ्क आवधिक गर्न र दुरुस्त राख्न निर्देशन दिए ।

महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले कुष्ठरोगीलाई समाजमा अरु नागरिक सरह व्यवहार गर्नुपर्नेमा जोड दिँदै तथ्याङ्क बिनाको योजनाले लक्ष्य हासिल गर्न नसकिने भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । मिसनका नेपालका निर्देशक शोभाकर कँडेल तथा आइडिया नेपालका प्रमुख अमर तिम्सिनाले आगामी दिनमा सबै कुष्ठरोगीलाई समेट्ने गरी तथ्याङ्क सार्वजनिक गरिने र यसबाट काम गर्न पनि सजिलो हुने उल्लेख गरे ।

कुष्ठ रोग लागेका बिरामीले आफूलाई लागेको रोगको बारेमा समाजमा अहिले पनि कसैलाई खुलेर भन्न सक्ने वातावरण नरहेको विराटनगरस्थित कुष्ठरोग उपचार विभागका अहेब नीरजकुमार ठाकुर बताउछन् । उपचार गराउन आएका बिरामीले आफ्नो नाम र ठेगनासमेत गोप्य राखिदिन अनुरोध गर्ने गरेको ठाकुरको भनाइ छ ।

कतिपय बिरामीले रोगलाई लापारवाही गरिदिने र नियमित औषधिसमेत सेवन नगरिदिनाले शरीरको भागले काम नगर्ने र अङ्गभङ्ग हुने गरेको ठाकुरले जानकारी दिनुभयो । कुष्ठरोग छाला तथा बाहिरी नशामा हुने एक प्रकारको सरुवा रोग हो । कुष्ठरोग लागेमा शरीरमा रातो र फुस्रो दाग देखिनु, कानको लोती सुनिनु, हातघोडा लाटो हुनु कुष्ठ रोगको लक्षण हुन् । शुरुमा नै यस्ता लक्षण कसैलाई देखा परेमा स्वास्थ्य केन्द्रमा गएर उपचार गराएमा र नियमित औषधि सेवन गरेमा यो रोग निको हुने गरेको ठाकुर बताउछन् ।

एक जना कुष्ठरोग लागेको बिरामीबाट सजिलै दुईदेखि चार जनासम्म सर्छ तर यो रोग लागेर उपचार गराउन ढिला गर्न नहुने अहेब ठाकुरले भने । उनले यो रोग लागेमा नडराई खुलेर उपचारको लागि स्वास्थ्य केन्द्रमा आउन समेत आग्रह गरे ।

कुष्ठ रोगको औषधि बिरामीको अवस्था हेरि छ महिनादेखि दई वर्षसम्म नियमित सेवन गर्नुपर्ने हुन्छ । कुष्ठरोगको औषधि सरकारले सबै सरकारी स्वास्थ्य केन्द्रमा निःशुल्क वितरण गर्दै आएको छ । औषधिको अभाव नरहेको जानकारी ठाकुरले दिए । कुष्ठरोग बालबालिकादेखि बुढाबुढी सबैलाई हुनेगर्छ ।

खासगरी यो रोग मानिसको शरीरको हातखुटा र कसैको आखाँमा हुनेगर्छ । कुष्ठरोगका बिरामीले आगो, तातो र चोटपटक लाग्नबाट सक्दो जोगिनुपर्ने हुन्छ । कुष्ठरोग लागेका बिरामीमा नशाले दिने स्पर्सशक्ति हराएकोले नशामार्फत चल्ने अङ्ग कमजोर हुने, चल्न नसक्ने र औला बाङ्गो हुने हुन्छ ।

सुनसरीबाट आफ्नी ९ वर्षीय छोरीको उपचार गराउन आउनु भएकी एक महिलाले आफ्नो छोरीलाई यो रोग लागेपछि परिवारको सदस्यले आफू र छोरी दुबैलाई हेला गर्ने गरेको र परिवारका सदस्यले जहिले गाली गर्ने गरेको पीडा सुनाए । कतिपय कुष्ठरोगी उचित उपचार नपाएर वा पारिवारिक सहयोग नपाएर मन्दिर वा विभिन्न सार्वजनिक ठाउँमा भिख मागेर जीविकोपार्जन गरिरहेकाले यसतर्फ सरकारको ध्यान जानु आवश्यकत देखिन्छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?