९ महिनापछि खुलेकाे पशुपतिमा नयाँ व्यवस्था, पश्चिम ढोका मात्रै खुला (भिडियो)

काठमाडाैं । कोरोना महामारिका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज (बुधवार) बाट खोलिएको छ ।

हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् । मन्दिर खोलिएपछि पूजाआजा गर्न सर्वसाधारणदेखि कलाकारसम्म जाडोको प्रवाह नगरी बिहानै पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा पश्चिम ढोकाबाट मात्रै सर्वसाधारणलाई प्रवेश गर्न र बाहिर निस्कन दिने व्यवस्था गरेको छ । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । भक्तालुहरुले मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ ।

मन्दिरभित्र प्रवेश गर्नुअघि हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था पनि मिलाइएको छ । मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तन लगायतका क्रियाकलाप भने अझैपनि बन्द गरिएको कोषले बताएको छ ।

यसअघि लामो समय मन्दिर बन्द राख्नु परेकोले पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो । मंगलवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेकी थिइन् । कोरोना संक्रमणको जोखिमका कारण नौ महिना देखि बन्द गर्नुपर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो ।

सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिकस्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै प्रदर्शन भएपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै पशुपतिनाथ मन्दिर खुला गरेको हो ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?