ओली प्रचण्डबीच ३ घण्टा लामो वार्ता : तीन सहमतिसँगै नेकपा विवादमा ‘सेफ ल्याण्डिङ सिग्नल’

काठमाडौं – हिजो (मंगलबार) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब ३ घण्टा लामो छलफलपछि ओली बबण्डर मच्याएको अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

लोकपथलाई स्रोतले दिएको जानकारी अनुसार पार्टीमा विगत ६ महिनादेखि चुलिएको सङ्कट समाधानको सूत्र खोज्ने भन्दै आज दिउँसो १ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा डाकिएको स्थायी कमिटीको बैठक अघि पार्टीका दुई अध्यक्ष र महासचिव बीच ३ घण्टा लामो कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रधानमन्त्रीले प्रचण्डलाई पहिलो प्रश्न गरेका थिए ‘आजको कार्यसूची के हो ?’ जवाफमा प्रचण्डले ‘मैले राखेको राजनीतिक प्रतिवेदनमा छलफल हुन्छ’ भनेपछि प्रधानमन्त्रीले ठाडै अस्वीकार गर्दै ‘तपाईले राखेको लाञ्छना पत्रमा मेरो सहभागिताको कल्पना नै नगर्नुहोस्’ भनेपछि बैठकमा अन्यौलता छाएको थियो । तर महासचिव साक्षी राखेर भएको ३ घण्टा लामो छलफलमा मूलत: तीनवटा विषयमा सहमति भएको बालुवाटार स्रोत बताउँछ ।

पहिलो  : हिजो मंगलबार जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता
दोस्रो : दुवै अध्यक्ष प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएका प्रतिवेदन फिर्ता दिने
तेस्रो : पार्टीभित्रको विवाद समाधानको लागि भदौ २६ गतेको सहमतिमा फर्किने

यी तीन सहमति भएसँगै विभाजनको बाटोमा हिँडेको नेकपामा ‘ग्रिन सिग्नल’ देखिएको राजनीतिक विश्लेषक बताउँछन् ।

जारी छ नेकपा स्थायी कमिटी बैठक : 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी छ ।

बुधवार (आज) १ बजेका लागि बोलाइएको बैठक ३ घण्टापछि केहीबेर अघि शुरु भएको हो ।

बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।

पार्टीमा विगत ६ महिनादेखि चुलिएको सङ्कट समाधानको सूत्र खोज्ने भन्दै डाकिएको स्थायी कमिटीको बैठक आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुरु भएको हो ।

यसैपनि पार्टीका अनेकन विवादमा जेलिएको नेकपामा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै बबण्डर मच्चिएको थियो ।

यसर्थ आजको बैठकमा पूरानो विषय टुंगो लाग्ला कि झनै जटिलतातर्फ जाला भन्नेमा धेरैको चासो थियो । तर नेकपा विवाद ‘सेफ ल्याण्डिङ’तर्फ उन्मुख भएको छ । हिजो(मंगलबार) अध्यादेश जारी भएसँगै नेकपाका पूर्व माओवादी पक्ष ओलीसँग चिढिएका थिए ।

प्रचण्ड पक्षका नेताहरुले तत्काल अध्यादेश फिर्ता लिन माग समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?