काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष आज बिहान छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले ती दुवै औपचारिक भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएका छन् ।
सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष गोल्छाले स्पष्ट पारेका छन् ।
निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
महासंघसंगको भेटवार्तामा नेपाली कांग्रेसका सभापति देउवा र नेकपाका वरिष्ठ नेता नेपालले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गरे । साथै उनीहरु दुवै जनाले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाएका छन् । महासंघको नयाँ नेतृत्वको अगामी कार्ययोजनाबाट प्रभावित भएको पनि सो अवसरमा उनीहरूले व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया