मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाऊ
मान्छे नमर्ने शहर हुँदैन ।
गीतकार कृष्णहरि बरालले चलचित्र ‘नाई नभन्नु ल २’ का लागि लेखेका गीतका यी हरफ जस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ३४ वर्षीया अनिता सुवेदीको जीवन कथा छ । तीन वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि पलपल मरेर बाँचिरहेकी छिन् उनी ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी सुवेदीलाई मिर्गौला फेरर निको हुने मन छ । आर्थिक अभावले हप्ताको एक पटक डायलासिस गराउन पनि समस्या छ । उनी भन्छिन्, “कुन शहर होला र जहाँ बिना पैसा उपचार गराएर निको हुने ?”
मिर्गौलाको समस्याका कारण उनको अनुहार सुन्निएको छ । निको हुनलाई सुई खोप्दाखोप्दा हातमा झनै घाउ बनेको छ । तैपनि निको हुने आश मरेको छैन । तर आर्थिक अभावको मार बेस्सरी खेपेकी छिन् उनले ।
उनको दमौली अस्पतालमा रहेको शत्रुघन मन्जु डायलासिस केन्द्रमा हप्ताको एक पटक डायलासिस गरिन्छ । नेपाल सरकारले गरेको व्यवस्थाअनुसार निःशुल्क डायलासिस हुन्छ । तर डायलासिस गरेपछि फेर्नुपर्ने रगत, औषधि र यातायात खर्च कसरी जुटाउने भन्ने चिन्ताले कहिल्यै छाड्दैन उनलाई । हप्तामा पाँच हजार हाराहारीमा खर्च हुने गरेको उनले बताइन् ।
मिर्गौला फेल भएको थाहा पाएदेखि वर्षदिन जेनतेन आफ्नै खर्चमा उपचार गराएको उनले बताइन् । दुई वर्षदेखि भने निरन्तर दाताले दिएको सहयोगको भरमा अनिताको उपचार भइरहेको छ । कोही जन्मदिनमा मनाउने खर्च अनिताको उपचारलाई दिन्छन् । दयालाग्दो अवस्था देखेर विदेशबाट पनि उनलाई सहयोग आइरहन्छ । “कहिले घरमै आएर सहयोग दिनुहुन्छ । कहिले हामी घरदैलोमा पुगेर सहयोग उठाउँदै हिँड्छौं,” उनले भनिन् ।
अनितासँगै ६० वर्ष नाघेकी आमा जानुका पनि घरदैलो चाहार्दै सहयोग उठाउँदै हिँड्छिन् । “उपचार गराउनलाई आफूसँग सुक्को रकम छैन । सहयोग नउठाए छोरीको उपचार हुँदैन,” उनले भनिन्, “श्वास रहुञ्जेल आश लाग्दो रैछ क्यारे । मागेरै भए पनि उपचार गराउन पाइयो भने त दुई चार दिन बढी छोरी बाँच्ली ।’’
अनिताका दाजु ३८ वर्षीय अर्जुन विस्तारामै थला परेका छन् । सानै छँदा घरको छतबाट खसेका उनको उपचार हुन पाएको छैन । तीन वर्ष अगाडिसम्म घिस्रिएर दिसापिसाब गर्नलाई शौचालयसम्म जाने उनी स्याहार पाउन छाडेपछि थला परेका छन् । हर प्रहर विस्तारामा गुजुल्टिएर बस्छन् ।
छोरोको पनि आर्थिक अभावले उपचार गराउन कठिन भएको आमा जानुकाले बताइन् । उनले भनिन्,“एउटीलाई त उपचार गराउन सकिएको छैन् । छोरोलाई कसरी लैजाम अस्पताल ।” अनिताको कान्छा भाइले घरखर्च चलाउन तरकारी बेच्ने गर्दछन् । बहिनीलाई भने परिवारको रेखदेखमै ठीक्क छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया