काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ ।
बुधवार (आज) १ बजेका लागि बोलाइएको बैठक ३ घण्टापछि भर्खर शुरु भएको हो ।
बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।
मंगलवार सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत भएसँगै बैठक शुरु भएको हो ।
पार्टीमा विगत ६ महिनादेखि चुलिएको सङ्कट समाधानको सूत्र खोज्ने भन्दै डाकिएको स्थायी कमिटीको बैठक आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुरु भएको हो ।
यसैपनि पार्टीका अनेकन विवादमा जेलिएको नेकपामा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै बबण्डर मच्चिएको छ ।
यसर्थ आजको बैठकमा पूरानो विषयमा टुंगो लाग्ला कि झनै जटिलतातर्फ जाला भन्नेमा धेरैको चासो छ। हिजो (मंगलबार) अध्यादेश जारी भएसँगै नेकपाका पूर्व माओवादी पक्ष ओलीसँग चिढिएका छन् ।
प्रचण्ड पक्षका नेताहरुले तत्काल अध्यादेश फिर्ता लिन समेत माग गरेका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा भोलिको बैठकमा छलफल गर्ने भन्दै आजको बैठकतर्फ सङ्केत समेत गरेका कारण आजको स्थायी कमिटी बैठकमा अध्यादेशको विषय पनि ‘ईन्डोर्स’ हुने पक्का छ ।
यसैबीच बैठक बस्नु केहीबेर अघि (नेकपा)का अध्यक्षद्वयबीच भेटघाट भएको थियो ।
स्थायी कमिटी बस्नुअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको हो ।
ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको स्रोतले जनाएको छ । अध्यादेश जारी गरेसँगै प्रचण्डपक्षले भेला गरी उक्त अध्यादेश फिर्ता लिन माग गरेका छन् ।
यसअघि चुलिँदो विवादको गाँठो फुकाउन भन्दै गत आइतवार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।
लोकपथसँग कुरा गर्दै एकजना स्थायी कमिटी सदस्यले भने, “यसअघि पनि प्रधानमन्त्रीले परामर्शबिनै राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए । तर त्यसको चर्को विरोध भएपछि अध्यादेश फिर्ता गरिएको थियो । यो पनि उनले फिर्ता गर्छन् । गर्नैपर्छ ।”
तर ती सदस्यले भनेजस्तै सजिलै ओली ‘ब्याक’ नहुने ओलीनिकट स्रोत बताउँछ ।
आजको बैठकका लागि दुवै पक्षले आ- आफ्ना पक्षका भेलाहरू र गुटगत बैठक गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया