काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै नेपाली राजनीतिमा बबण्डर मच्चिएको छ । सरकारले हठात् रुपमा अध्यादेश गरेको भन्दै विभिन्न कोणबाट आलोचनाहरु भइरहेका छन् ।
सत्तारुढ दल नेकपाकै नेताहरुले पनि जारी अध्यादेशको घोर निन्दा गरेका छन् भने भर्खरै सरकारविरुद्ध खबरदारी गर्न देशव्यापी प्रदर्शन गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अध्यादेश जारी सँगै पुनः एकपटक तातेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सिफारिसमा राष्ट्रपतिले ल्याएको अध्यादेश विवादित रहेको भन्दै संवैधानिक परिषद् बैठक नै बहिष्कार गरेका थिए । उनले अध्यादेश अलोकतान्त्रिक कार्य भएको पनि स्पष्ट पारेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद् को मूल मर्म विपरित संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने नियतका साथ अध्यादेश जारी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो’ भन्दै यस्तो कार्यको विरोध गर्ने बताएका छन् ।
यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश विल्कुलै गलत भएको भन्दै अध्यादेशलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए। ‘इन्तु, परन्तु, इफ, बट, दायाँबायाँ, आदि इत्यादि कुरै छैन, हाम्रो प्रष्ट विमती छ,’ उनले भने, ‘प्रतिपक्षीको समर्थन नखोज्नुस् ।’
त्यस्तै हिजो जारी अध्यादेशबारे कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि आपत्ती जनाए । सामाजिक सञ्जालमा लेख्दै उपसभापति निधीले उक्त अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी कामको संज्ञा दिएका हुन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान र प्रणालीमाथि नांगो आक्रमण रहेको भन्दै स्वीकार्य नहुने समेत बताएका थिए ।
यसै क्रममा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले संसद बन्द गराएर अध्यादेश जारी गरेको भन्दै आपत्ती जनाएका छन् । आक्रोश व्यक्त गर्दै सांसद थापाले संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने ? भन्दै आक्रोश व्यक्त गरेका थिए ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मेन्सन’ गर्दै सरकारको असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने र त्यसको लागि सडक, सदन र जनताको शक्ति र साथबाट सरकारको कदमलाई असफल बनाउने दाबी गरेका थिए ।
अध्यादेशबारे हिजै (मंगलवार) कांग्रेसका नेताहरुहले समाजिक सञ्जाल तथा विज्ञप्ति मार्फत् असन्तुष्टी जनाइसकेतापनि आज(बुधवार) हुने पदाधिकारी बैठकबाट थप आधिकारीक रुपमा विरोध गर्ने कांग्रेसले बताएको छ ।
सरकारले हिजो(मंगलवार) राष्ट्रपतिको स्वीकृतीमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । बिहान बोलाइएको संवैधानिक परिषदको बैठक बस्न नसकेपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
आज(बुधवार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बस्दैछ ।
मंगलवार (हिजो) सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बस्न लागेको हो ।
आज(बुधवार) दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश र कांग्रेसको देशव्यापी विरोध कार्यक्रमको समिक्षा गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया