काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले त्यसबारे आलोचना गरेका छन् ।
सभामुख सापकोटा आइतवार र मंगलवार बैठक संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएपछि थापाले सामाजिक सञ्जालमा आलोचना गर्दै दायित्व र कर्तव्यविपरित बैठक बहिस्कार गरेको आरोप लगाएका हुन् ।
साथै थापाले सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा दुवै बैठकका तस्वीरहरु सार्वजनिक गर्दै लेखेका छन्, “सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक दायित्व र कर्तव्यविपरित बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानबमाेजिम आयाेजित संबैधानिक परिषदका दुई वटा बैठक । जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेकाे छ।”


बैठक स्थगित भएसँगै तत्काल मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले बहुमत सदस्यको उपस्थिती मा नै बैठक बस्न सकिने बाटो खुलेको छ ।
यसअघि गत वैशाखमा पार्टीभित्र आन्तरिक किचलो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश जारी गरेकी थिइन् । सहज रुपमा राजनीतिक दलहरु फुटाउन सकिने गरी दल सम्बन्धी र संवैधानिक निकायमा नियुक्तिका लागि बहुमतीय प्रावधानसहित पारित गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादमा परेसँगै सरकारले फिर्ता लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया