नि:शुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’ले कृषि फार्ममा रोजगारी दिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा निः शुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्ममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए ।

अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए । अब भने कोठापनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनैठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको बताए । अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ७०/८० जनालाई कृषि फार्ममा लगाउने पनि पन्तले बतए ।

हाम्रो टीम नेपालले मंगलवार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?