ओली सरकार अधिनायकवाद उन्मुखः नेता केसी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सोहीअनुसार नुवाकोटमा पनि काँग्रेसले सदरमुकाम विदुरदेखि बट्टारबजारसम्म विरोध र्‍याली निकालेको छ ।

विरोध र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले सरकारको निरंकुश, तानाशाही, सर्वसत्तावादी, एकदलीय अधिनायकवादीका विरुद्धमा देशभर काँग्रेसले विरोध प्रदर्शन गरेको बताए ।

सरकारले तनहुँको पुल उद्घाटनमा जान लागेका प्रतिपक्षी दलका शीर्ष नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार गर्नु सर्वसत्तावादको संकेत भएको भन्दै उनले खेद व्यक्त गरे । नेता पौडेलमाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै त्यस्ता सरकारको प्रवृत्तिविरुद्ध नुवाकोटमा प्रतिरोध गर्ने चेतावनी दिए ।

सरकारको सर्वसत्तावादी प्रवृत्तिमा कोभिड१९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मूल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, करवृद्धि र कुशासनको विरुद्ध देशभर नेपाली काँग्रेसले विरोध कार्यक्रम गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?