गगन थापाको गर्जन-“सरकारलाई ठेगान नलगाएसम्म कांग्रेस घर फिर्ता हुँदैन”

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले संसद्बाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको बताएका छन् ।

काँग्रेसद्वारा धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आएको बताएका हुन् । उनले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली काँग्रेस घर फिर्ता नहुने समेत बताए । ओली सरकार इतिहासकै भ्रष्ट भएको भन्दै नेता थापाले निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्य मन्त्री नै प्रधानमन्त्रीका प्रिय रहेको बताए ।

नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना नभएको भन्दै कांग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताए । सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै जनताको पक्षमा कुनै काम गर्न नसकेकोले कांग्रेसले खवरदारी गरिरहेको बताए ।

धनगढी चौराहबाट र्याली सहित शुरु भएको प्रदर्शन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुन कांग्रेस नेता तथा समर्थकहरु धनगढी पुगेका थिए । सभालाई केन्दीय सदस्य गगन थापा, पूर्वमन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?