उखु किसानले अस्वीकार गरे सरकारसँगको वार्ता

काठमाडौं । आन्दोलनरत उखु किसानले सरकारसँग वार्ता गर्न अस्वीकार गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले आज उद्योगीसहित आन्दोलनरत किसानलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए । तर उनीहरु आउन नमानेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्री भट्टले उद्योगीहरुसँग भने मन्त्रालयमा छलफल गरेका छन् । उद्योगीहरुले किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको छ । विभिन्न उद्योगहरुबाट ८० करोडभन्दा बढी रकम दिन बाँकी रहेको छ । त्यो रकम अझै किसानले पाएका छैनन् ।

मंसिर ९ गते पनि मन्त्री भट्टले उद्योगीसँग छलफल गरेका थिए । त्यो छलफलमा पनि उनीहरुले एक महिनाभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका थिए । त्यो प्रतिवद्धता जनाएको एक महिना नपुग्दै किसानहरुले आन्दोलन शुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?