सभापति देउवाले भने- ‘सरकारको गैरजिम्मेवारपन र अत्याचारका कारण सडकमा आयौँ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गैरजिम्मेवार क्रियाकलाप र अत्याचारका कारण आफूहरु सडकमा आएको बताएका छन् ।

सरकारविरोधी प्रदर्शनलाई सम्बोधन गर्न मकवानपुर पुगेको सभापति देउवाले सरकारले गैरजिम्मेवार क्रियाकलाप र अत्याचार जारी राखेकाले नै कांग्रेस सडकमा आएको बताए ।

कोरोना महामारीको समयमा सडकमा आउनु राम्रो नभएपनि विज्ञप्तिमार्फत सरकारलाई गरेको विरोध नसुनेका कारण कांग्रेसले सडकबाटै आन्दोलन गरेको उनले बताए ।

सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, “वास्तवमा यो कोरोनाको महामारीको समयमा सडकमा भेला गराएर जनतालाई संक्रमित बनाउने हाम्रो इच्छा होइन । यो बाध्यात्मक अवस्था हो,“हामीले विज्ञप्ति जारी गरेर विरोध गर्दा केही गरेन भन्ने सडकमा निस्कँदा कांग्रेसले यस्तो गर्‍यो भन्ने काम हुँदैछ ।”

त्यस्तै सरकारको गैरजिम्मेवारीपनका कारण राजा आऊ देश बचाऊ भन्ने नारा लाग्दासमेत सरकार भने त्यसमै घिउ थप्न लागिपरेको देउवाले आरोप लगाएका छन् ।

त्यस्तै आफूले वर्तमान सरकार बनेको केही समयमा नै कम्युनिष्ट शासन आएमा हास्न मात्रै नभइ रुनसमेत नपाई भन्ने कुरा अहिले प्रमाणित हुन लागेको बताएका छन् ।

सभापति देउवाले जनता भोक र रोगले मर्दासमेत ओली सरकार भाषणबाजीमा मात्रै रमाएको आरोप लगाएका छन् ।

“मैले उसबेला नै भनेको थिएँ कम्युनिष्टले जितेमा हास्न पनि पाइँदैन दिल खोलेर रून पनि पाइँदैन,” आज हेर्नुस् त वास्तवमा कम्युनिष्ट सरकारले एकदलीय शासन जस्तो गरिरहेको छ, जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरू आत्तिएँ भन्दै बसेका छन् ।” सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?