प्रलोभन देखाइ दक्षिण अफ्रिका पुर्‍याएर बिक्रि, तस्करी गर्ने महिला प्रहरीको पन्जामा

काठमाडौँ । दक्षिण अफ्रिका लगेर मानिस बिक्री गरेको अभियोगमा एक महिलालाई प्रहरीको मानव बेचबिखन ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोले जनाएको छ ।

उनलाई काठमाडौँ महानगरपालिका–७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिए । यसअघि मङ्सिर १६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ, मिरिङदेङ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई काठमाडौँको महाराजगञ्जस्थित पानीपोखरीबाट पक्राउ गरिएको थियो ।

उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उनीहरुले विसं २०७३ को चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँचजनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका लगेर बिक्री गरेको खुल्न आएको छ । पीडितलाई शारीरिक, मानसिक र आर्थिक शोषण गरी चार/पाँच महिनासम्म बन्धक बनाएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेपछि पीडितको उद्धार भएको थियो । उनीहरु नेपाल आई ब्यूरोमा दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?