ललिता निवास जग्गा प्रकरण: अख्तियारका पूर्वप्रमुख बस्न्यात कारागार चलान

काठमाडौँ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आइतबार बयानका लागि विशेष अदालतमा पुगेका बस्न्यातलाई अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार उनलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार पठाएको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका बस्न्यात आइतबार विशेष अदालतमा उपस्थित भएका थिए । पूर्वआयुक्त बस्न्यातले बालुवाटार स्थित सरकारी जग्गा व्यक्तिलाई बिक्री गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आइरहेका छन् ।

०७२ चैत १९ मा अख्तियारको आयुक्त नियुक्त भएका बस्न्यात ०७४ जेठ ८ मा प्रमुख आयुक्त बनेका थिए । उनले ०७४ माघ २८ मा अवकाश पाएका थिए । आफ्नै पूर्वप्रमुखविरुद्ध अख्तियारले मुद्दा चलाएको यो पहिलो घटना हो ।

ललिता निवास जग्गा प्रकरणमा बस्न्यातसँगै १७५ जना विरूद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ । बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी समेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?