कांग्रेसले आज देशभर आन्दोलन गर्दै, कुन नेताले कहाँ गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा सरकार विरोधी प्रर्दशन गर्दैछ।

सरकारको पछिल्लो गतिविधि साथै पार्टीका वरिष्ठ नेतामाथि गरेको दुर्व्यवहार, सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको, कोरोना नियन्त्रणमा काम गर्न नसकेको साथै भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाउँदै प्रर्दशन गर्न लागेको हो ।

मङ्सिर १७ गते बुल्दी खोला पुल उद्घाटन गर्न गृहजिल्ला तनँहु पुगेका बरिष्ठ नेता रामचन्द्र पौडेल माथी प्रहरी प्रशासनले दुर्व्यवहार गरेसँगै कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

सरकारले संसद बैठक नबोलाएको तथा कोभिड(१९ को जोखिमका कारण सामाजिक संजाल र विज्ञप्तिमार्फत आफ्ना निर्णय र विचार राख्दै आएको कांग्रेसको मङ्सिर १९ गते बसेको बैठकले २९ मङ्सिरमा देशव्यापी प्रदर्शन र अविलम्ब संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनका लागि देशका मुख्यमुख्य शरहरुमा केन्द्रीय नेता पठाउँने, नारा तोक्ने साथै स्थानीय आवश्कता अनुरुप जिल्ला समिति अन्य नारा तोक्ने लगायतका निर्णय गर्दै कांग्रेसले देशभर आन्दोलनलाई सफल बनाउन तीव्र तयारी थालेको थियो ।

सोहि अनुरुप आज देशका मुख्यमुख्य शहरहरुमा सम्बोधनका लागि नेताहरु उपस्थित हुनेछन् । यसैक्रममा सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे र पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै युवा नेता गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, नेताहरू रामशरण महत चितवन,अर्जुननरसिंह केसी पोखरा, एनपी साउद अछाम र नेतृ चित्रलेखा यादव सप्तरीको कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्न महोत्तरी जाने तयारीमा रहेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलामा कोरोना संक्रमण देखिएपछि उनको ठाउँमा तराईकै कुनै नेताले सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए । साथै देशभर कांग्रेस लगायत करिब दश लाख नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागी हने आँकलन गरिएको पनि पौडेलले बताए ।

“तनहुँमा भएको दुर्व्यवहार अपमान र अत्याचार, चारैतिर भ्रष्ट्रचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा” लगायतका नाराहरु तय गरिएको छ । प्रर्दशनमा निर्धारित नारा मात्रै प्रयोग गर्न पनि भनिएको छ ।

यता आन्दोलनलाई सभ्य र भब्य बनाउने भन्दै काठमाडौं कांग्रेसले हप्तादिन अघि देखिनै तयारी तीव्र पारेको थियो। प्रदर्शनलाई सफल बनाउन नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको निर्देशन अनुसार रणनीतिक योजना बनाएको छ ।

आज काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कमा वृहत कार्यक्रमको आयोजना हुने र प्रदर्शनमा काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरुको समेत सहभागिता रहने बताइएको छ।

काठमाडौं क्षेत्र नं १ ले भृकुटीमण्डपबाट जुलुक निकाली कार्यक्रम गर्नेछ । त्यस्तै क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौर, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निस्किने कार्यक्रम तय भएको छ । जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुनेछ ।

आइतवार (हिजो) कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै प्रदर्शनमा एकता, जांगर र नवीन उत्साह साथ सहभागी हुन अपील गरेका गरेका थिए । सरकारका प्रवृतीका कारण जनताहरुमा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागेको आन्दोलन महत्वपूर्ण समेत देउवाले विज्ञप्ति जारी गर्दै बताएका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सामाजिक संजाल मार्फत एक भिडियो सन्देश जारी गर्दै भौतिक दूरी कायम राख्दै मंसिर २९ को प्रदर्शनमा सहभागी हुन आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?