जलवायु परिवर्तन : विश्वभर बहँदैछ तातो हावा, यसकारण तपाईंले मतलब राख्नैपर्छ !

'विश्वको औसत तापक्रममा तीन डिग्रीले बढ्यो'

काठमाडौँ । संयुक्त राष्ट्र वातावरण कार्यक्रम (यूएनईपी) ले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार पृथ्वीमा ग्रिन हाउस ग्यास उत्सर्जन अहिले उच्च स्तरमा पुगेको छ ।

विश्वको विगत एक सय वर्ष (सन् १९०६ – २००५) को तापक्रम हेर्दा पृथ्वीको औसत तापक्रममा ०.७४ डिग्री सेल्सियसले वृद्धि भएको छ र २१ औं शताब्दीसम्ममा १.४ डिग्री सेल्सियसदेखि ५.८ डिग्री सेल्सियससम्मले बढ्ने अनुमान गरिएको छ ।

सो प्रतिवेदन अनुसार विश्वको औसत तापक्रम तीन डिग्री सेल्सियसले वृद्धि भएको छ ।

यूएनईपीका अनुसार विश्व तिव्र गतिमा नयाँ र उच्च जलवायु परिवर्तनतर्फ बढीरहेको छ। जानकारहरु भन्छन् – ‘यो विश्वको लागि खतरा हो ।’

यसअघि आएको एक रिपोर्टले विश्वभरका एक सयभन्दा धेरै वैज्ञानिकहरूले गरेको अनुसन्धानले पहिले ठानिएभन्दा तीव्र गतिले समुद्रको सतह बढिरहेको देखाएको छ।

“विश्वमा जलवायु परिवर्तन तिव्र गतिमा बढ्दै गएको कारण यसको नतिजा पनि भयानक हुँदै गएको छ । जस्तै मौसम अचानक परिवर्तन हुनु, आर्कटिकमा हिउँ कम हुँदै जानु र पश्चिमी अमेरिका वा साइबेरियाको जंगलमा ठूलो आगलागी तथा तातो हावा बहनु रहेको छ ।” यूएनईपीको प्रतिवेदनमा लेखिएको छ ।

अध्ययनकर्ताहरुको अनुसार नोभेम्बर महिना पुरै विश्वमा अहिले सम्मको सबैभन्दा गर्मि भएको थियो ।

राष्ट्रसङ्घका वैज्ञानिकहरूका अनुसार ग्रिनल्यान्ड तथा अन्टार्टिकाका बरफ अभूतपूर्व गतिले पग्लिरहेकोले छ ।
बीबीसी लेखेको छ – ‘जलवायु परिवर्तन कम नभए हामीले हाम्रा केही प्रिय खाना तथा पेयलाई बिर्सनुपर्ने हुनसक्छ। जब तापक्रम र मौसमी लय बदलिन्छन्, बाली राम्ररी उब्जाउ हुँदैन भने माछा र जनावरहरू मर्न सक्छन्। सन् २०५० सम्ममा विश्व तापमानका कारण कफी उत्पादनका लागि उपयुक्त भूमि आधा घट्ने देखिएको छस सन् २०८० सम्ममा कफीका कतिपय प्रजाती एकसाथ लोप हुनसक्ने ठानिएको छ।

कफी निर्यात गर्ने एउटा प्रमुख देश तान्जानियाले समेत गत पचास वर्षमा आफ्नो उत्पादनमा पचास प्रतिसत ह्रास देखेको छ। चियाका विरूवा उम्रने समय मनसुन तिब्र भइरहेको छ जसले चियाको स्वादमै प्रभाव पारेको छ।

के छ पेरिस सम्झौतामा ?
सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी २१ औं अन्तर्राष्ट्रिय सम्मेलनका सम्झौता कार्यान्वयन गर्न कार्यविधि तयार भएको छ पेरिस सम्झौताले जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ । यसलाई सहज भाषामा एउटा ‘रुल बुक’ जस्तै मानिएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्षराष्ट्रले १२ डिसेम्बर २०१५ मा फ्रान्सको राजधानी पेरिसमा यो सम्झौता गरेका थिए । तेल उत्पादक देशहरु १.५ डिग्री सेल्सियस तापक्रम कायम राख्नमा सहमत नहुनु र अन्य मुलुकले भने १.५ डिग्रिसेल्सियस नै तापक्रम राख्नुपर्छ भन्ने अडान लिएका थिए ।

अहिले १ सय ९७ मध्ये ६३ मुलुकले यसलाई अनुमोदन त गरेका छन् तर प्रदूषण प्रतिशत ५२.११ प्रतिशत मात्र पुगेको छ । यो प्रतिशत मात्रा ५५ पुग्यो भने यो सम्झौता लागु भएको मानिन्छ । सो सम्झौताको मुख्य उद्देश्य विश्व तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कम कायम गर्नु हो ।

यद्यपी अहिले विश्वभर कार्बनडाइअक्साइडको उत्सर्जनमा ऐतिहासिक कमी आएको छ । यसअघिका कुनै पनि युद्ध, आर्थिक मन्दी र महामारीमा पनि कार्बन उत्सर्जनमा अहिलेको जस्तो कमी देखिएको थिएन । तर, कोभिड- १९ को असरबाट जोगिन विश्वका धेरै देशले लकडाउनको नीति कडाईका साथ लागू गरेपछिको केही महिनामा नै कार्बन उत्सर्जनको ग्राफ ऐतिहासिक रुपमा तल झरेको देखिन्छ ।

जलवायु परिवर्तनका प्रभावसँग जुध्न नीतिगत प्रक्रिया र पद्धति निर्माणमा विश्वभर सहयोगी मानिएको ‘पेरिस सम्झौता’ नेपालले अनुमोदन गरेको छ। तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए। विश्वका अन्य ठूला प्रदूषण मुलुकको तुलनामा नेपालले गर्ने प्रदूषण नगण्य छ । सरकारी तथ्यांकअनुसार प्रदूषणमा ०.०२७ प्रतिशत मात्र नेपालको हिस्सा छ । विगत ३६ वर्ष (सन् १९७५–२०१०) को तापक्रम तथ्यांक बिश्लेषण गर्दा नेपालको अधिकतम औसत तापक्रम वार्षिक करिब ०.०६ डिग्री सेल्सियसले वृद्धि भएको छ ।

के कारण हुन्छ तापक्रम वृद्धि  ? 
तापक्रम बृद्धि हुनुको मुख्य कारण कार्बनडाइअक्साइड, नाइट्रसअक्साइड, मिथेन, हाइड्रोकार्बन, जलवाष्प आदि जस्ता हरितगृह ग्यासको वायुमण्डलमा बढ्दो उत्सर्जन नै हो ।

मानवउत्सर्जित हरितगृह ग्यासमध्ये कार्बनडाइक्साइड, मिथेन, नाइट्रसअक्साइड र अन्य ग्यासले क्रमशः करिब ७२, १८, ९ र १ प्रतिशत अंश ओगटेका छन् ।

सन् १७५० यता वायुमण्डलमा हरितगृह ग्यासमध्ये कार्बनडाइक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा क्रमशः ३६, १४८ र १८ प्रतिशतले बढेको छ ।

नेपालमा कस्ता असर देखिएका छन् ?
हरितगृह ग्यास बढ्दो उत्सर्जनले वायुमण्डल तातिँदै जाँदा स्थानविशेषको जलवायुमा पनि परिवर्तन हुँदै गएको छ । नेपालको परिप्रेक्ष्यमा जलवायु परिवर्तनका कारण वार्षिक वर्षा–चक्रमा हेरफेर, कहिले लामो समयसम्म खडेरी तथा कहिले एकैदिन धेरै परिमाणमा पानी (मुसलधारे वर्षा) पर्ने गरेको छ ।

२४ घन्टाभित्र सय मिलिमिटर वा सो भन्दा बढी परिमाणमा पानी पर्ने दिनहरुको सङ्ख्या बढ्दै गएका छन् ।

दिन र रात दुवै पहिलेको भन्दा ताता हुने गरेको अर्थात् ठण्डा दिन र रातको संख्या कम हुँदै गएका छन् ।

तीव्र गतिमा हिमस्खलन हुँदै जानाले हिमनदी पातलिँंदै र सानो हुँदै गएको र हिमतालको आकार बढ्दै गएको छ ।

जलवायु परिवर्तनको असर विशेष गरेर नेपालजस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्टित तथा पर्वतीय मुलुकमा बढी देखिएको छ ।

अतिवृष्टि, अनावृष्टि, सघनवृष्टि, बाढी, पहिरो, डढेलोजस्ता प्रकोपमा वृद्धि भएको छ ।

भविष्यमा तपाईंको खाना खाने टेबलमा के नहुन सक्छन् ? 

यसै वर्षमा सन् २०२० मा अहिलेसम्मको सबैभन्दा अधिक गर्मी बढेको रेकर्ड भएको छ । संयुक्त राष्ट्र वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इनगर एन्डरसनले बताएका छन् ।

यसको परिणाम जंगलमा आगलागी, आँधीबेहरी र खडेरीको कहरको रुप देखिनेछ ।

यस्तो अवस्थामा भविष्यमा हुने संकटको सामना गर्नको लागि सन् २०१५ मा भएको पेरिस सम्झौतालाई लागू गर्न जरुरी छ ।

‘तपाईले चकलेट खान पाउनुहुनेछैन’  

चकलेट बनाउने कच्चा पदार्थ कोकोआको बिउ कोको पड्स उच्च तापक्रम र अत्याधिक आद्रताबीच राम्ररी हुर्कन्छ। तर उनीहरूका लागि स्थिरता चाहिन्छ । कोकोका विरूवाहरूको माग कफीका विरूवाजत्तिकै उच्च छ। र, तापक्रममा आएको परिवर्तन, वर्षा, माटोको गुणस्तर, सूर्यको प्रकाश वा वायुको गतिको उत्पादनमा ठूलो प्रभाव हुन्छ। इन्डोनेसिया र अफ्रिकाका उत्पादनकर्ताहरूले कोकोआका विरूवा छाडेर अडीर र रबर जस्ता अलि भरपर्दा बालीहरूतर्फ लागेका छन्।

४० वर्षको अवधिमा घाना र आइभरी कोस्टले आफ्नो औसत तापक्रम थप दुई डिग्रीले बढेको महसुस गर्ने अपेक्षा गरिएको छ।

तिनै दुई देशहरूबाटै विश्वभर दुईतिहाई भन्दा बढी कोकोआ निर्यात् हुन्छ।

‘माछा पनि पाईने छैन’

माछामा समेत प्रभाव कार्बनडाइअक्साइड सोस्नुले पनि समुद्रको पानीलाई अझ बढि अम्लीय बनाएको छ। जसको अर्थ सेलफिसलाई आफ्ना शरीरमा कवचहरू उमार्न गाह्रो हुनु हो।सबैभन्दा राम्रो प्रमाण माछा मार्ने जालोमा भेटिन्छ। विश्वव्यापी रूपमा त्यस्ता जालोमा माछा पर्ने दर पाँच प्रतिशतले घटेको छ। उत्तरी समुद्रमा माछा मार्नेहरूले आफ्नो व्यवसायमा एक तिहाइसम्म ह्रास महसुस गर्नेछन्।

‘आलु उब्जिरहन्छ तर तिनले धेरै खडेरीहरूको सामना गर्नेछन्’

सन् २०१८ को एउटै तातो गर्मीयामले आलुको उब्जनी एक चौथाईले कम गरिदियो।

ब्रिटिश सञ्चारमाध्यमहरूले जनाए अनुसार प्रत्येक आलु तीन सेन्टिमिटरले साना भइदिए।

दक्षिण- पश्चिम फ्रान्समा रहेको ६ सय वर्ष पुरानो कोन्याक उद्योग अहिले सङ्कटमा छ। बढ्दो तापक्रमले त्यहाँका प्रसिद्ध अङ्गुरहरू प्रशोधन गर्नका लागि निकै गुलियो भइदिए।

उत्पादकहरूले व्यग्रतापूर्वक त्यसलाई विस्थापित गर्न खोजिरहेका छन्। उनीहरूले वर्षेनी अनुसन्धानमा लाखौं युरो खर्च गरे पनि अहिलेसम्म निकै कम सफलता हात लागेको छ।

त्यसमाथि उत्तरतर्फ स्कटल्यान्डमा ह्विस्की उत्पादकहरू सोचमग्न छन्। बढ्दो तापमानले गर्दा सिर्जना हुने खडेरीले कञ्चन पानीको आपुर्तिमा कमी ल्याइरहेको छ। बीबीसीले थपेको छ ब्रिटेन र आयरल्याण्डले अब हरेक आठ वर्षको अन्तरालमा चरम मौसम सामना गर्न सक्छन्

के यो मेरो समस्या होइन ? 
यी कुनै उत्पादनले मलाई असर पार्दैन भन्ने तपाईंलाई लाग्न सक्ला। तर के कुरा बुझ्न जरुरी छ भने विश्वव्यापी खाद्य चक्रमा देखिएको यो नाटकिय परिवर्तनले लाखौं मानिसको जीवनयापनमा असर पार्नेछ।

कम उत्पादनसँगै बस्तुका मूल्य बढ्नेछन्। खाद्य अभावले सहजै मानवीय सङ्कट सिर्जना गर्नेछ।

त्यसैले जलवायु परिवर्तनले निम्त्याउने समस्या झेल्नका लागि तयार रहनुको विकल्प एउटै छ

– ”वायुमण्डललाई सफा राखौँ ।”

(बीबीसी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?