ओलीको सन्देश लिएर सुवास नेम्वाङ खुमलटारमा, के दिए प्रचण्डले ‘रिप्लाई’ ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्थायी कमिटि सदस्य सुवास नेम्बाङबीच भेटघाट भएको छ ।

अध्यक्ष प्रचण्डसँग भेटघाट गर्न आइतवार बिहान नेम्वाङ दाहाल निवास खुमलटार पुगेका हुन् ।

अध्यक्षद्वयको विवादका कारण पार्टी भित्र देखिएको विवाद समाधानका विषयमा कुराकानी गर्न संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ प्रचण्ड निवास पुगेको स्रोतले जनाएको छ ।

भेटघाटका क्रममा पार्टी एकता जोगाउनेबारे कुरा भएको र अध्यक्ष प्रचण्ड त्यसमा सकारात्मक रहेको उनले नेम्वाङले बताएका छन् । साथै पार्टी भित्र देखिएको विवादका कारण आफू चिन्तित रहेको र एकताका पक्षमा आफूलाई सधैँ उपस्थित गराउने प्रतिवद्धता समेत व्यक्त गरेको नेम्वाङले बताए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको धारणाहरु लिएर नेम्वाङ प्रचण्ड भेट्न निवास पुगेका थिए । अध्यक्ष ओली समेत पार्टी एकताको पक्षमा रहेको र विवादका कारण चिन्तित रहेको आफूले प्रचण्डलाई अवगत गराएको उनले बताए ।

नेकपाभित्रको विवाद समाधानका लागि नेकपाका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् ।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले प्रचण्डसँग भेटघाट गरेका थिए । स्रोतले दिएको जानकारी अनुसार हिजोको बैठकमा पनि पोखरेलले प्रचण्डसँग ओलीले पठाएको सन्देश लिएर गएका थिए ।

पार्टी विवाद समाधानका लागि आजका लागि स्थायी कमिटि बैठक बोलाइएको छ । आजको बैठकमा पूर्व सांसद एवम् नेकपा नेता कमानसिंह लामाको निधनप्रति शोक वक्तव्य जारी गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?