काठमाडौं । आइतवार (आज) का लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
संवैधानिक परिषद्मा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँले लोकपथलाई जानकारी दिए ।
आजको बैठकमा पमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा अनुपस्थित भएसँगै गणपुरक संख्या नपुगेको र बैठक स्थगित गरिएको बजगाईँले लोकपथलाई बताए ।
“खासगरि संवैधानिक परिषद्मा ५ जनाको अनिवार्य उपस्थिती हुनुपर्ने तर प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेकाले बैठक स्थगित गर्नुपरेको हो ।” उनले भने
सभापति देउवाले रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका हुन् ।
संवैधानिक आयोगहरुमा प्रखुमसहित रिक्त आयोगहरुमा पदपूर्तिका लागि भन्दै शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बैठक बोलाएका थिए ।
सरकारका पछिल्ला गतिविधिहरु साथै पार्टीका वरिष्ठ नेतालाई प्रहरीले अभद्र व्यवहार गरेको विरोधमा कांग्रेसले भोलीका लागि देशभर आन्दोलनको तयारी गरेको छ । आन्दोलनको अघिल्लो दिन सरकारले बोलाएको बैठकमा उपस्थित हुनाले नराम्रो संन्देश जाने भन्दै सभापति देउवा बैठकमा अनुपस्थित रहेका हुन् ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसँग कुरा नमिल्दा धेरै संवैधानिक आयोगहरुले पूर्णता पाउन नसकेको हो ।
हाल राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन्। निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ। राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ। राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन रहेका छन् ।
संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अधिकार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्लाई हुन्छ । यसमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया