खलङ्गा । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको १० वर्षदेखि सो पेसामा सक्रिय जुम्लाको तिला गाउँपालिका–७ का उमेश नेपालीले गुनासो गरे ।
अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाहरुले सो पेसालाई छाडदै गएको चन्दननाथ नगरपालिका–८ का स्थानीयवासी तुलाराम कामीले बताए । “युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ”, उनले भने, “गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको छु । दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग भएमा सहज हुन्थ्यो ।”
नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको स्थानीय जक्तिराम कामीले बताए । राज्यले अरु पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उनको भनाइ थियो ।
एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनले बताए । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको उनले बताए । आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको बताइन्छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया