कांग्रेस नेतृलाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने, “आर्थिक विकासको नयाँ यात्रातिर अघि बढ्यौं”

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर साहसहित १०९ नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

दाहालले भने “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्धति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रातिर आफूहरु अगाडि बढेको बताएका छन् । उनले भने, “यो बेला पक्कै पनि चुनौती आउँछन् । ती समस्या र चुनौतीको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टीभित्रै छ । कम्युनिष्ट पार्टीले आफैँभित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवादतिर लाग्नेछौँ ।”

उनले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए  । उनले भने “मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन् । मानिसको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ ।” नेतृ साहले नेपाली काँग्रेसभित्र मौलाएको गलत प्रवृत्तिका कारण आफूले सो पार्टी परित्याग गरेको बताइन  । उनले देशमा आएको जाति, लिङ्ग र समुदायमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गरिन्  ।

दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उनी संविधानसभा सदस्य थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?