प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार, के होला संवैधानिक परिषद्को बैठक ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

सभापति देउवाले रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन् । देउवाले बैठक केही दिन सारिदिन आग्रह गरेको बुझिएको छ ।

कांग्रेसले २९ मंसिरमा ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले बोलाएको परिषद्को बैठकमा नजान पार्टीका नेताहरुबाट दबाब आएपछि देउवाले यस्तो आग्रह गरिएको बताइएको छ ।

कानूनी व्यवस्थाअनुसार संवैधानिक परिषद्मा विपक्षी दलका नेता अनिवार्य हुनुपर्ने भनिएको छ । संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । देउवा अनुपस्थित हुने भएपछि बैठक सर्ने करिब निश्चित भएको छ ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अधिकार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्लाई हुन्छ । यसमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

संवैधानिक  आयोगहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।

यस्तै समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, मधेसी आयोगमा  ४ आयुक्त, थारू आयोगमा  ४ आयुक्त र मुस्लिम आयोगमा ४ आयुक्तको नियुक्ति हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?