बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा प्रथम सैनामैना खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ । सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा वडा नम्बर ३ मुर्गियास्थित कभर्ड हलमा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्दै यस वर्ष वडा नम्बर ६ मा पनि लुम्बिनी प्रदेशको सहयोगमा व्यवस्थित कभर्ड हल निर्माण गरिने जानकारी दिए । उनले भने, “नगर एउटा खेल पर्यटनको हिसाबले पनि विकास होस् भन्ने उद्देश्यसहित क्रिकेट एकेडेमी, फुटबल स्टेडियम, कभर्ड हलका कामहरु अघि बढ्नाका साथै खेल मैदानहरु स्तरोन्नति भइरहेको छ । ”
रुपन्देही ब्याडमिन्टन संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठले प्रतियोगिताले स्थानीयस्तरका खेलाडीलाई राष्ट्रियस्तरको बनाउन ठूलो भूमिका खेल्ने धारणा राख्दै तीनै तहका सरकारलाई खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता फडिन्द्र शर्मा र नेकपा सैनामैना इञ्चार्ज खुशीराम चौधरीले ब्याडमिन्टन प्रतियोगितामा महिलालाई पनि प्राथमिकता दिएर सँगसँगै अगाडि बढाउन सुझाव दिए । राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन संघका प्रमुख प्रशिक्षक सुदीप योन्जन र संघका रेफ्री उदय अर्यालले खेलाडीका तर्फबाट शपथ लिएका थिए ।
नगरपालिकाको एक करोड ६ लाख, जिल्ला खेलकुद विकास समितिको १० लाख, जिल्ला समन्वय समितिको १० लाख तथा जनश्रमदानबाट पाँच लाख गरी कूल एक करोड ३१ लाखका लागतमा सैनामैना ब्याडमिन्टन कभर्ड हल निर्माण गरिएको थियो । उक्त हलमा शुरु भएको राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौं, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ५० समूहको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय खुला मेन्स डबलको पुरस्कारमा क्रमशः प्रथम ५१ हजार, द्वितीय ३५ हजार र तृतीयलाई २० हजारसहित ट्रफी र प्रमाणपत्र तथा भेट्रानतर्फ क्रमशः प्रथम ३० हजार, द्वितीय २० हजार र तृतीयलाई १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया