‘तपाईहरुसँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर’ : हनान गोडेर

काठमाडौं । नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पूरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । यो सँगै नेपालका लागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ । नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्ध र दोहोरिएर आउनुको कारण बारे कुराकानी गरेको छ । साथै नेपाली कृषि र प्रविधीको चर्चा पनि गरेका छौं ।
महामहिम तपाईलाई स्वागत छ ।
धेरैधेरै धन्यवाद ।

यो तपाईको दोस्रो कार्यकाल हो । कसरी सम्भव भयो ?

हो यो म दोस्रोपटक राजदूत बनेर आएको छु । केही वर्ष अगाडी सम्म यहिं थिए । फेरी आउन पाउँदा खशी छु । नेपाल धेरै राम्रो छ र एकदमै चाखलाग्दो देश पनि छ । नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन् । हामी दुबै देशले परस्पर हीतका धेरै काम गरेका छौं यसलाई निरन्तरता दिन पनि म आएको हुँ ।

नेपाल र इजरायल बीचको सम्बन्ध हिजो र आज कस्तो छ ?

यो वर्ष हामी इजरायल नेपाल सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहेका छौं । यो कुरा हामी विर्सन सक्दैनौं । इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ, मलाई लाग्छ एशियामा पहिलो पनि हो । यो दुतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो । अहिले सम्म हामी यहिं छौं । हामी लामो समयदेखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं । यो तथ्यले अशल सम्बन्धलाई प्रष्ट पार्छ ।

हाम्रो सम्बन्धमा नेपाली जनता र इनजरायली जनता कसरी जोडिएका छन ?

हाम्रो सम्बन्ध असल छ । यसको कारण हाम्रो समान बुझाई छ । हामी दुबै साना देश हौं । दुवै देशको छिमेकमा ठूला देश छन् । ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभुति रहन्छ । मलाई लाग्छ नेपाल इजरायल बीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो देश सानो छ । मध्यपूर्वमा देशहरुबीच मित्रवत सम्बन्ध छैन । यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं ।

हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ । इजरायलमा धेरै देशका मान्छेहरु आउन चाहन्छन्, काम गर्न चाहन्छन् । इजरायलको प्रगति हेर्न चाहन्छन । नेपालीले पनि इजरायललाई मन पराउँछन यस्तै इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन् । धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन् । यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ ।

अव अलिकति कृषिका कुरा गरौं । यो तपाईको मन पर्ने विषय पनि हो । इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ ?

म पहिला इजरायलको कृषिको कुरा गर्छु । ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं । जनताले खाद्यान्न लिनको लागि सरकारले दिने कुपनको भर पर्नुपथ्र्यो । यसमा पनि सिमित खाना मात्र थियो । अहिलेको अवस्था सम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं । यो चमत्कार जस्तो लाग्छ तर यो चमत्कार नभएर कडा मेहनतको नतिजा हो । अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादक मध्ये एक हो । यो कसरी सम्भव भयो भन्दा कथा जस्तो लाग्छ सुन्दा । तपाईलाई थाहा छ इजरायलमा जम्मा ३ प्रतिशत किसानले ९७ प्रतिशत जनतालाई खुवाईरहेका छन् । तपाईले सोच्नुभयो होला यो कसरी हुन्छ ? हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं । हामीले यो काम गरिरहेका छौं । हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं । हामीले अनुभव र सिकाई आदान प्रदान गरिरहेका छौं । नेपालीहरुले विस्तारै सिक्न पनि थालेका छन् ।

कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो । नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन ?

कृषि प्रविधिमा धेरै विकास भइसकेको छ । हामीले सिकाउने यहि नै मुख्य कुरा हो । म एउटा कुरा भन्छु सुन्नुस हैत, इजरायलमा पर्याप्त वर्षा हुँदैन साथै पानीको श्रोत पनि पर्याप्त छैन । अनि हामीले थोपा सिंचाईको विकास ग-यौं । यो प्रविधिको प्रयोग पानीको कमी पुरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पु-याउन पनि प्रयोग ग-र्यौं । नेपालमा हामी हेछौ, नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं । अहिले सम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो । इजरायलमा विरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ । हामी यसलाई फर्टिजेसन भन्छौं । यो नै प्रविधि हो । साथै यो लगानी पनि हो । थोपा सिंचाइको लागि पाइप लगाएतको समानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ । यसबाट उत्पादन बढ्छ । नेपालीले सिक्ने यही हो । यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनुपर्छ ।
अर्को तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नु पर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो ।

यो कुरालाई नेपाली दाजुभाईले बुझ्न जरुरी छ । अव पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन । यसलाई परिवर्तन गर्न जरुरी छ । आधुनिक तरिकाले कृषि गर्न जरुरी छ । केही वर्ष अगाडि सम्म नेपालमा टनेल खेति थिएन अहिले हेरौं त जताततै छ । यस्तै सिँचाई प्रणालीपनि फेरिदै गएको छ यो पानीको अभावले होइन कृषि उत्पादन बढाउन किसानले पानी मल दिने तरिका बदलेका हुन् । हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यहि हो । अव पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ । नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ । नेपालको माटो मलिलो र उब्जाउशिल छ । किसान पनि मेहनती छन् । हामीले यसलाई नै प्रोत्साहित गर्नुछ ।

महामहिम तपाई दोहोरिएर आएपछि केही विशेष योजना पनि छन की, अब तपाईको मुख्य दृष्टिगोचर केमा हुन्छ ?

हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन् । हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ । यो कृषि पर्यटन श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनुपर्छ । जसले अन्तर्राष्ट्रिय मंचमा हाम्रो द्धिपक्षीय सम्बन्ध उदाहरणीय बनोस । हामी यसैलाई सफल बनाउन लागि रहेका छौं । नेपाल र इजरायलबीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईलाई, तपाईहरु सँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर छ । यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ ।
हामीले विभिन्न साञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौँ । नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजाने बारे के भइरहेको छ बनाउन सक्नुहुन्छ ?

नेपालबाट लिने भनेको घरेलु हेरचाहको श्रमिक हो । खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो । यसको सम्झौता भइसकेको छ । अव यो कार्यान्वयनको चरणमा जाँदैछ । आगामी महिनाबाट औपचारिक प्रकृया नै शुरु हुन्छ । यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ । दुवै पक्षले यसबाट लाभ लिन सक्नेछन ।

अन्त्यमा नेपाली दाजुभाईलाई केही भन्न चाहनुहुन्छ ?

पहिला देशलाई बचाउँ, वातावरण पनि जोगाऔं । विकाशलाई निरन्तरता दिऔं । नेपालले विकासको लामो बाटो हिडनु छ । विकाशबाट नै प्रगति सम्भव छ । अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ । नयाँ संविधान बनेको छ । यसले बिस्तारै काम गर्न थालेको छ ।
मेरो सबै नेपाली दाजुभाईलाई आग्रह छ विकाश तर्फ लाग्नुहोस् । विकाश र प्रगतिको लागि धेरै कुराको निरन्तरता आवश्यक हुन्छ । मेरो सबैलाई शुभकामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?