खेतमा मल छर्न गएकी युवतीमाथि जबरजस्ती करणी, ५ लाखमा मिलापत्र गराउने ६ जना हिरासतमा

मोरङ । जबरजस्ती करणीको घटनामा ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन् ।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले  २१ वर्षीया युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेको प्रहरीको भनाइ छ । अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागज सहित आ-आफ्नै घरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?