प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।शुक्रवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

लामो समयदेखि रिक्त संवैधानिक निकायहरूका अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा छलफल गर्न आइतवार बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाइएको छ । सोही बैठकको तयारीका बारेमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल भएको हो ।

आइतवारको बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुनेछ ।

प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।

संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ । परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?