महालक्ष्मी विकास बैंक र क्लियरिङ्ग हाउसबीच सम्झौता : खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने प्रणालीको शुरुवात गर्न लागेको छ ।

बैंकले बिहीवार (हिजो) “CorporatePAY” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजश्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत connectIPS अथवा  NCHL-IPS रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिने बैंकले जनाएको छ ।

CorporatePAY मा आवद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् ।

यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । उक्त सिमा भन्दा बढिको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ ।

यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार गर्न वा नगर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।

ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

साथै यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने विश्वास लिएको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?