रामेछापदेखि अन्तर्राष्ट्रिय रिङसम्मको यात्राः नेपालकी पहिलो महिला रेस्लर भगवती

काठमाडौं । नेपालमा पहिलो पटक ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । काठमाडौंको नयाँ बानेश्वर, शान्तिनगरस्थित नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा आज(शनिवार) च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिपमा नयाँ महिला रेस्लरहरुबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा यस प्रकारको प्रतिस्पर्धा पहिलो पटक हुन लागेको फाउन्डेसनकी संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का(युनिका)ले बताइन् ।

५ फिट नौ इन्च उचाइ, खाइलाग्दो ज्यान । हेर्दा सामान्य छोरी मान्छेभन्दा फरक देखिन्छिन् भगवती खड्का । उनी नेपालकै पहिलो महिला रेस्लर हुन् । शारीरिक बनावटकै हिसाबले पनि महिला रेस्लर हुन ठ्याक्कै सुहाएको छ उनलाई ।

समाजले छोरी मान्छेले गर्न नसक्ने भनेर छुट्याइदिएको धेरैवटा काम गर्दै आएकी छिन् उनले । बाइक कुदाउने, स्टन्ट गर्ने, भारतौलन, रेस्लिङ जस्ता क्रियाकलापमा रमाउने भगवती भन्छिन्, ‘छोरी मान्छेसँग बल नभएको होइन, साहस नभएको हो’।

साहसकै कुरा गर्ने हो भने भगवतीसँग टन्नै किस्साहरु छन् सुनाउनलाई । तिनैमध्ये एउटा रमाइलो बाल्यकालको किस्सा उनले लोकपथसँग साटिन्, ‘कक्षा ९ मा पढ्दा म एक्लैले २० जनासँग पनि फाइट खेलेको छु ।’

‘स्कुलमा एउटी केटी साथीसँग भनाभन भएको थियो पछि उसले मलाई कुट्न भनेर ४ जना केटाहरु ल्याइछे, मैले सबैलाई सजिलै ढालिदिएपछि २० जनाले घेरे मलाई,’ हाँस्दै उनले थपिन्, ‘तर, ती २० जनासँग पनि नडराइ फाइट खेलेँ । त्यो मेरो जीवनको पहिलो फाइट थियो ।’

सानैदेखि जुझारु स्वभावकी भगवतीलाई आफ्नो रिस र बल नै आफ्नो शक्ति हो भन्ने कुरा बुझ्न काठमाडौं नै आउनुप¥यो । हो, उनी रेस्लर वा खेलाडी बन्न राजधानी आएकी थिइनन् । रामेछापको मन्थली नगरपालिका १२, अम्बासको सानो गाउँबाट गायिका बन्न उनी काठमाडौं छिरेकी थिइन् ।

पछि कलेजमा भेट भएकी साथीले उनको ज्यान र हाउभाउ हेरेर खेलकुदमा लाग्न उक्साएपछि उनले नाइनास्ती गर्न सकिनन् । र, राष्ट्रिय भारत्तोलन खेलाडी झम्क कटवालसँग प्रशिक्षण लिन पुगिन् ।

भारत्तोलन खेलाडीका रुपमा पनि उनको प्रस्तुति तारिफयोग्य रह्यो । वि.सं २०६५ सालमा भक्तपुरमा भएको राष्ट्रिय खेलमा आफूले कास्य पदक जितेको बताउँछिन् भगवती । यही दौरान उनले पौडी, कराँते, बक्सिङ, नृत्य, फिल्म फाइट आदि सबै सिकिन् । भारत्तोलनमा ठाउँ बनाइरहँदा अचानक उनको हातले धोका दियो र उनले भारत्तोलनसँगको यात्रालाई पूर्णविराम लगाउनुपर्ने भयो ।

त्यसपछि केही फिल्म र सिरियलमा खलनायिकाको भूमिकामा पनि देखा परिन् उनी तर, त्यस क्षेत्रले आफूलाई खासै लोभ्याउन नसकेको सुनाउँछिन् उनी ।

उनलाई रेस्लिङमा आउने सल्लाह फाइट गुरु योगेश श्रेष्ठले दिएका थिए । त्यसमा, मलजल हालेर उनलाई रेस्लरका रुपमा हुर्काउने काम गरे ‘हिमालयन टाइगर’ले जो आफै पनि नेपालका लोकप्रिय कुस्तीवाज हुन् ।

प्रशिक्षणका केही महिना अत्यन्तै कठिन भएको सम्झिन्छिन् उनी । केटाहरुको बीचमा उनी एकमात्र केटी प्रशिक्षार्थी थिइन् जसले गर्दा अलि बढी हेपिइने, दबिनुपर्ने कुरा त सामान्य भइगयो । यद्यपि, आफू कुशल कुस्तीवाज बन्नुमा सबैभन्दा ठूलो हात आफ्ना गुरु ‘हिमालयन टाइगर’को रहेको बताउँछिन् भगवती ।

आफ्नो पहिलो रेस्लिङ प्रतिस्पर्धा सम्झिन्छिन् उनी । वि.सं २०६९ मंसिर १६ गतेको दिन सन्धीखर्कमा आयोजित पहिलो खेलमा उनले विदेशी महिला रेस्लरसँग रिङमा सामना गर्नुपर्ने थियो । नेपाली महिला खेलाडीलाई रेस्लिङको कस्ट्युम(पहिरन) लगाएर रिङमा लड्नका लागि उत्रिएको त्यो दृश्यले दर्शकहरुको अनुहारमा थोरै उत्साह अनि धेरै अचम्म झल्किएको बताउँछिन् भगवती ।

‘पहिलो खेल भएर होला त्यसमा जित्न सकिन तर, त्यसपछिको खेल मैले जितेँ,’ भगवती आफ्नो रेस्लिङ यात्राका बारेमा सुनाउँछिन्, ‘५ हजारबाट शुरु भएको यात्रा एउटै गेमको ५० हजार लिने स्तरसम्म पुग्यो ।’

अहिले पनि उनी रेस्लिङकै सक्रिय छिन् । खेलाडीका रुपमा मात्रै नभएर प्रशिक्षकका रुपमा पनि उनी नेपाली महिला रेस्लिङको स्तरोन्नतिमा लागिपरेकी छिन् । नेपाल वुमन रेस्लिङ फाउन्डेसन मार्फत् उनले नेपालको विभिन्न क्षेत्र विशेषतः ग्रामीण भेगका युवतीहरुलाई रेस्लिङको प्रशिक्षण दिइरहेकी छिन् ।

नेपालका विभिन्न ठाउँमा रेस्लिङ शो गर्ने र टेलिभिजन शो समेत गर्ने योजना बनाएकी भगवती अहिले त्यसैको तयारीमा लागिपरेकी छिन् ।

‘मनग्य पैसा कमाउन नसकेपनि आफूले कमाएको सम्मान र पुरस्कारहरु हेर्दा सन्तुष्ट अनुभव हुन्छ,’ भित्तामा सजाइएका सम्मानपत्र र ट्रफी हेर्दै भगवती मुस्कुराइन् ।

भगवती खड्कालाई साहसबाट मिलेको खुशी हेर्नुहोस् ह्यासट्याग स्माइलको यस भिडियोस्टोरीमा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?