बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ : पीडित पक्षलाई दिएका थिए ५ लाख

मोरङ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनालाई ढाकाछोप गरी मिलापत्र गराएको अभियोगमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन् ।

उनीहरुले जबरजस्ती करणी गरेको घटनाका पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।

गत भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका थिए । फरार अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागज सहित आ-आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?