बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि बझाङ-खोड्पे सडकखण्ड अवरुद्ध

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाका आफन्तले न्यायको माग गर्दै बिहीवार बेलुकादेखि यातायातका साधन बन्द गरेपछि यात्रुसमेत अलपत्र परेका छन् भने छोटो तथा लामो यातायातका साधनसमेत सुनकुडामा लाम लागेका छन् ।

बस चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरीचौकीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

सुनकुडामा बिहीवारदेखि अवरुद्ध भएका यातायातका साधन खोल्नको लागि गाउँपालिका जनप्रतिनिधि, प्रहरी, बालिकाका परिवार बसेर छलफल भइरहेको समेत प्रनाउ खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?