श्रेष्ठको दाहसंस्कारमा गाउँले भावविह्वल, हत्या गर्नेहरू तरकारी माग्न आइरहन्थे

appharu
13
Shares

विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्येष्टिमा सहभागी भएकाहरूले श्रेष्ठलाई दागबत्ती दिनुअघि घाँटी रेटिएको, टाउकामा चोट र जीउमा नीलडाम भएको शव हेर्नसमेत सकिरहेका थिएनन् । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो ।

उत्तरी मोरङको मिक्लाजुङ–१ रमिते बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अपरिचितको समूहबाट मारिएका होइनन् । उनलाई लैजाने समूह घटनाअघि पनि घरमा तरकारी माग्न आइरहन्थ्यो । सशस्त्र द्वन्द्व भोगेको विकट बस्तीका बासिन्दालाई राजनीतिक आस्थाका कारण भूमिगत भएकाहरू अनौठा थिएनन् ।

गणतन्त्रपछि पनि गाउँसम्म बाटो आइपुगेको छैन । स्वास्थ्यचौकी र प्रहरी कार्यालय कोसौं टाढा छन् । सदरमुकाम पुग्नु परे दुई दिन खर्च हुन्छ । गाउँमा पूर्वाधार विकासका योजना नआएको असन्तुष्टिका कारण गाउँलेलाई भूमिगत भएकाहरूले हत्याको घटना नगराउँदासम्म ‘परिवर्तनकै लागि हिँडेका होलान्’ भन्ने लाग्थ्यो ।

अन्त्येष्टिमा सहभागी भएका एक छिमेकीका अनुसार श्रेष्ठलाई गत मंगलबार बिहान ७ बजे घरनजिकैको गोठबाट अपहरण गरिएको थियो । श्रेष्ठका दुईवटा गोठ छन् । बिहानै श्रेष्ठ एउटा गोठतिर लागे भने उनकी पत्नी धनकुमारी घरदेखि करिब एक किलोमिटर परको अर्को गोठतिर गएकी थिइन् । नेत्रविक्रम चन्द समूहका ६ जना कार्यकर्ता श्रेष्ठ भएको गोठमा पुगे । ६ मध्ये चार जनाले अनुहार छोपेका थिए । उनीहरूले श्रेष्ठलाई हात अगाडि बाँधेर घरदेखि उत्तरतर्फ हिँडाउँदै लगे । करिब ३० मिटर अगाडि छिमेकीको घर पुगेपछि श्रेष्ठले ‘मलाई त साथीहरूले लगे है माल्दाइ’ भने ।

त्यसपछि त्यहाँ दुई जना स्थानीय युवक निस्के । उनीहरूले अपहरणकारीको समूहलाई ‘हाम्रो सरलाई किन लगेको’ भनेर सोधे । उनीहरू ‘उहाँलाई सम्झाएर केहीबेरमै पठाइदिन्छौं’ भन्ने जवाफ दिँदै अगाडि बढे । कान्तिपुरमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?