मङ्सिर २९ को आन्दोलनलाई सफल बनाउन कांग्रेस काठमाडौंले थाल्यो तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २९ गते देशभर गर्न लागेको विरोध प्रदर्शनको तयारी थालेको छ ।

आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले बिहीवार छलफल गरी रणनीतिक योजना बनाएको छ ।

पार्टीको निर्देशन अनुसार आन्दोलनलाई सभ्य र भब्य बनाउन काठमाडौं कांग्रेसले तयारी थालेको सभापति सबुज बानियाँले जानकारी दिए ।

काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कमा वृहद कार्यक्रमको आयोजना गर्नेगरी तयारी भएकोर प्रदर्शनमा काठमाडौंमा उपलब्ध केन्द्रीत नेताहरुको समेत सहभागिता रहने उनले बताए ।

बानियाँले दिएको जानकारी अनुसार काठमाडौं क्षेत्र नम्बरको भृकुटीमण्डपबाट जुलुक निकाल्ने छ भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निस्किनेछ ।

त्यस्तै जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुनेछ ।

आजको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीसहित प्रदेश, नगरका सभापति र जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै आन्दोलनको तयारीस्वरुप कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले कार्यकर्ताहरुलाई देशभरबाट आन्दोलनमा सरिक हुन आह्वान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा देशभर मङ्सिर २९ गतेको प्रदर्शनलाई सशक्त बनाउने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?