काठमाडौं – सगरमाथाको उचाइ मापनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेका टोली आज एक कार्यक्रमकाबीच सम्मानित भएका छन् ।
निजामती पर्वतारोही संघले आज (बुधबार) सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका प्रमुख नापी अधिकृत इन्जिनियर खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई सम्मान गरेको हो ।
उचाइ मापनका लागि इन्जिनियर गौतम नेतृत्वको टोली २०७६ जेठ ८ गते बिहान ३ बजेर ०५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको थियो ।
हिजो (मङ्गलवार) नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरेका थिए । यसअघि ८८४८ मिटर रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेर ८८४८.८६ मि पुगेको छ । आर्थिक वर्ष ०७५/७६ देखि शुरु गरिएको सगरमाथाको उचाइ मापन प्रक्रिया हालै सम्पन्न भएर मन्त्रीपरिषद्को बैठकले सार्वजनिक गर्ने अनुमति दिएपश्चात् घोषणा गरिएको हो ।
यसपालि नेपाल सरकारले इतिहासमै पहिलोपटक आफ्नै लागत र जनशक्तिसमेत खर्चेर सगरमाथाको उचाइ मापन गरेको हो । यसअघि अन्य देशहरुले उचाइ नाप्दै आएका थिए ।

सगरमाथाको बारेमा केही तथ्यहरुः
- नेपालको प्रदेश नं १ को उत्तरपूर्वी भेगस्थित सोलुखुम्बु जिल्लामा रहेको सगरमाथा नेपाल र तिब्बतको सिमानामा पर्दछ ।
- शुरूमा ‘पिक ’ नामाकरण गरिएको सगरमाथालाई सन् १८६५ मा सर्वे अफ इण्डियाका तत्कालीन सर्वेयर जेनरल कर्णेल जर्ज एभरेष्टको सम्मानस्वरुप उनैको नामबाट माउन्ट एभरेष्ट नामाकरण गरिएको थियो ।
- नेपाली नाम ‘सगरमाथा’ राख्ने श्रेय भने इतिहास शिरोमणि बाबुराम आचार्यलाई जान्छ ।
- सगरमाथालाई तिब्बती भाषामा छोमोलुङ्मा भनिन्छ जसको अर्थ हो ‘पवित्र आमा’ ।
- पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हुन् ।
- प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा हुन् ।
यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् :
सगरमाथाको उचाइ बढ्यो
बढ्यो सर्वोच्च शिखर सगरमाथाको उचाइ, यसरी कठिनाईसँग जुध्दै नापेको थियो नेपाली टोलीले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया