‘कोरोना भाइरसविरुद्धको भ्याक्सिन किनेर थुपार्ने प्रतिस्पर्धामा धनी राष्ट्र’

काठमाडौं । सारा विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउनबेलायतले शुरु गरिसकेको छ । बेलायतले हिजो (मंगलवार) देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु गरेको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरिएको थियो ।

बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको माग विश्वभर रहेको छ । तर भ्याक्सिनको उत्पादन भने त्यही संख्यामा हुन सकेको छैन् । धनी राष्ट्रहरुले ठूलो संख्यामा भ्याक्सिन किनेर राख्ने प्रयास गरिरहेको दाबी पिपल्स भ्याक्सिन एलायन्सको छ ।

एलायन्सको अनुसार धनी राष्ट्रहरुबीच भ्याक्सिन किनेर थुपार्ने प्रतिस्पर्धाको मारमा निम्न आय भएका र गरिब राष्ट्रमा पर्ने देखिएको छ। धनी राष्ट्रबाट बचेर भ्याक्सिन आएमा निम्न आय भएका राष्ट्रहरुमा १० जनामा १ जनाले मात्रै भ्याक्सिनको डोज लगाउन पाउने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?